वीरगञ्ज । बारामा कार्तिक पूर्णिमाको अवसरमा आज बुधबार बिहानै भक्तजनहरूले त्रिवेणीघाटमा कुम्भ स्नान गरेका छन्। धार्मिक आस्था र श्रद्धाका साथ नदीमा नुहाई–धुवाई गरी उनीहरूले पूजाअर्चना, दीपदान र दान-पुण्य गरेका छन्।
फेटा गाउँपालिका–१ स्थित त्रिवेणी नदीको तटमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। कार्तिक शुक्ल पूर्णिमालाई हिन्दू धर्मावलम्बीहरू अत्यन्तै पवित्र दिनका रूपमा लिन्छन्। शास्त्र अनुसार यो दिन स्वर्गका सबै देवी–देवताहरू पृथ्वीलोकमा अवतरण गर्ने भएकाले नदी, तलाउ तथा घाटहरूमा स्नान गर्नाले अपार पुण्य प्राप्त हुने विश्वास गरिन्छ।
त्रिवेणीघाटलगायत विभिन्न तीर्थस्थानहरूमा आज विशेष सरसफाइ, दीप प्रज्वलन र धार्मिक अनुष्ठानहरू गरिएको छ। यस दिन व्रत बस्ने, भगवान् शिव र विष्णुको आराधना गर्ने, तथा तुलसीको पूजा गर्ने विशेष परम्परा रहँदै आएको छ। भगवान् विष्णुलाई समर्पित सत्यनारायणको पूजा पनि आजको दिन विशेष फलदायी मानिन्छ।
धर्मग्रन्थहरूका अनुसार कार्तिक पूर्णिमामा व्रत लिँदा मानसिक अशान्ति, डर तथा चिन्ताबाट मुक्ति पाइने र पारिवारिक सुख–शान्ति प्राप्त हुने विश्वास गरिएको छ। यस दिन दीपदान गर्दा ऋणबाट मुक्ति, तुलसीपूजाबाट मनोकामना पूरा हुने, र व्रत बस्दा यज्ञ बराबरको फल प्राप्त हुने जनविश्वास छ।
कार्तिक शुक्ल पूर्णिमासँगै चतुर्मासको समापन हुने भएकाले आजबाट शुभकार्यहरू पुनः सुरु गर्ने चलन पनि रहेको छ। चतुर्मास अवधिमा भगवान् विष्णु निद्रामा रहने र त्यस अवधिमा मङ्गल कार्य नगर्नु पर्ने धार्मिक परम्परा अनुसार अब विवाह, ब्रतबन्ध, पूजा–पाठ तथा नयाँ कार्यहरूको थालनी गर्न सकिने विश्वास गरिन्छ।
पूर्णिमाको रातमा चन्द्रमा पूर्ण आकारमा देखिने र विशेष चहकिलो हुने भएकाले यस दिनलाई वैज्ञानिक दृष्टिले पनि रोचक मानिन्छ। सूर्यको प्रकाश सीधै चन्द्रमामा परेकाले यो रात अन्य दिनभन्दा बढी उज्यालो हुने वैज्ञानिक तथ्यले पनि कार्तिक पूर्णिमाको आकर्षण थप्ने गरेको छ।