काठमाडौं । दोलखाको रोल्वालिङ हिमशृङखलामा गएको भीषण हिमपहिरोमा परी हराइरहेका चार जनाको आज बिहान उद्धार गरिएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार हाई अल्टिच्युड हेलिकोप्टरमार्फत दुई जना विदेशी तथा दुई जना नेपाली पथप्रदर्शकलाई आज बिहान यलुङ री हिमालको आधार शिविर नजिकैबाट उद्धार गरिएको हो ।
हिमपहिरोस्थल नजिकैबाट चार जनालाई घाइते अवस्थामा हेलिकोप्टरले उद्धार गरेको उनले बताए । 
यसैगरी हिमपहिरोबाट जोगिएका थप तीन जना नेपाली पथप्रदर्शकलाई दोलखाको ना गाउँमा सुरक्षित रूपमा राखिएको छ । उनीहरूलाई पनि केहीबेरमा उद्धार गरेर चरिकोट ल्याइने तयारी गरिएको छ । 
रोल्वालिङ हिमशृङखलाको डोल्मा खाङ (६,३३२ मिटर) र यलुङ री (५,६३० मिटर) हिमाल आरोहणका लागि आइतबार पाँच विदेशीसहित १५ जना आरोही यलुङ री बेस क्याम्प पुगेका थिए । बाक्लो हिमपातका कारण उनीहरूले सोही ठाउँमा टेन्ट टाँगेर बसेका थिए । सोमबार बिहान आरोहण सुरु गर्ने तयारीमा रहेका बेला आकस्मिक रूपमा हिमपहिरो खस्दा उनीहरू पुरिएका थिए ।
हिमपहिरोमा पुरिएर एक विदेशीसहित तीन जनाको हिजै मृत्यु भएको पुष्टि भएको छ भने अझै पाँच जना बेपत्ता छन् । हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ । 
उद्धार तथा खोजी कार्यमा नेपाली सेनाको टोली, सशस्त्र प्रहरी र स्थानीय उद्धारकर्मी परिचालन गरिएको छ । टोली हाल ना गाउँ हुँदै हिमपहिरो गएको स्थानतर्फ अघि बढिरहेको छ, तर दुर्गम भौगोलिक स्थिति र प्रतिकूल मौसमका कारण सो स्थलमा पुग्न कठिनाइ भएको छ ।
दुई छुट्टाछुट्टै ट्राभल कम्पनीमार्फत पुगेका आरोही समूहहरू डोल्मा खाङ र यलुङ री दुवै हिमाल आरोहणका लागि तयारी अवस्थामा रहेका थिए ।  आइतबार आधार शिविरमा पुगेका उनीहरू सोमबार आरोहणको तयारीमा थिए । तर, सोमबार बिहानै पहिरो गएको थियो ।
स्थानीय प्रशासनले प्रतिकूल मौसममा हिमाली क्षेत्रका आरोही तथा पर्यटकहरूलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्हरूका अनुसार पछिल्ला दिनहरूमा उच्च हिमाली भागमा लगातार बाक्लो हिमपात भइरहेको छ । यसले हिमपहिरोको जोखिम बढाएको छ ।