काठमाडौँ । आज भाद्र शुक्ल चतुर्थीका दिन सनातन धर्मावलम्बीले भगवान् गणेशको जन्मोत्सव श्रद्धा र भक्तिभावसहित मनाइरहेका छन् । शिव र पार्वतीका पुत्रका रूपमा यस दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।
भगवान् गणेशलाई सबै काममा बिघ्न हटाउने अर्थात् विघ्नहर्ताका रूपमा पूजिन्छ । हिन्दू धर्ममा गरिने सम्पूर्ण पूजा–आराधनाको प्रारम्भ गणेशको स्मरण र पूजा गरेर गरिन्छ भन्ने धार्मिक परम्परा छ । सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गर्ने’ भनाइ पनि यही विश्वाससँग जोडिएको छ ।
गणेशका अनेकौं नाम छन्— ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीमुख भएकाले गजानन, गणका स्वामी भएकाले गणपति, विघ्न हटाउने भएकाले विघ्ननाशक, देवप्रिय भएकाले सुरप्रिय र विनायक नामले समेत पुजिन्छन् ।
पुराणअनुसार पिता शिवले कुनै बेला नचिनेर गणेशको टाउको काटिदिएका थिए र पछि हात्तीको शिर जोडिदिएको उल्लेख पाइन्छ । अर्को कथाअनुसार जन्मे लगत्तै शनिको दृष्टि पर्दा शिर नष्ट भई हात्तीको टाउको गाँसिएको जनश्रुति छ ।
काठमाडौँ उपत्यकाका सूर्यविनायक, चन्द्रविनायक, जलविनायक, चारुविनायक, अशोकविनायक, मरुविनायक र कमलविनायक मन्दिरमा बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेको छ । विशेष पूजा, भजन–कीर्तन र दर्शनमा भक्तहरू सहभागी भएका छन् ।
भाद्र शुक्ल चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने धार्मिक मान्यता छ । विश्वास गरिन्छ— यो दिन चन्द्रमा हेरे चोरीको दोष लाग्छ । यसपालि चतुर्थीको चन्द्रमा मंगलबार परेको खगोलीय पञ्चाङ्गविद्हरूले बताएका छन् ।
गणेश चौथी नेपाल र भारतका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइन्छ । कतिपय स्थानमा भव्य गणेश रथयात्रा निस्किन्छन् ।
नेवार समुदायमा यस दिनलाई चथाः भनिन्छ भने तराई–मधेशमा चौठचन्द्रका नामले पर्वको विशेष महत्त्व छ । तराईमा साँझपख केटाकेटीहरूले काँक्रा, फलफूल र तरकारी चोरी गर्ने सांस्कृतिक चलन समेत रहिआएको छ ।