काठमाडौँ । हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मौसममा मिश्रित बदलाब देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका तराई भेग र हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यसैबीच, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका साथै उपत्यका र खोचहरूमा तापक्रम थप बढ्ने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा 'तातो हावाको लहर' (लु) चल्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आज राति देशका हिमाली भेगमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
बढ्दो गर्मी र सम्भावित मेघगर्जनरचट्याङबाट बच्न महाशाखाले सर्वसाधारणलाई मौसमसम्बन्धी अध्यावधिक सूचनाका आधारमा आफ्नो दैनिक कार्यतालिका मिलाउन सुझाव दिएको छ।