६ वैशाख, वीरगञ्ज । १३ वर्षदेखि अवरुद्ध वीरगञ्जको मुख्य सडक विस्तारको काम आइतबार बिहानैदेखि अघि बढेको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने सडकको मापदण्डभित्र परेका भौतिक संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौंडा र स्थानीय प्रशासनको समन्वयमा डोजर चलाइएको हो ।
सडक विस्तारको कामलाई तीव्र बनाउन प्रशासनले बिहान साढे ४ बजेदेखि नै अभियान सुरु गरेको थियो । गण्डक चोक, पावर हाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोक, भन्सार क्षेत्र गरी ६ स्थानमा एकैसाथ संरचना भत्काउन सुरु गरिएको छ । सडकको दुवैतर्फ २५–२५ मिटर सडक सीमाभित्र पर्ने घरटहरा हटाउन यो कदम चालिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सडक विस्तार कार्यलाई निर्वाध अघि बढाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी गरी करिब ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । भौतिक संरचना भत्काउन १२ वटा डोजर प्रयोगमा ल्याइएको छ, जसमा वीरगञ्ज महानगरपालिकाका ४ वटा र सडक विभागका ८ वटा ९सडक विभागका ६ र अन्य थप २ सहित० डोजर परिचालन गरिएको हो ।
विगत १३ वर्षदेखि वीरगञ्जको सडक विस्तारको काम विभिन्न कानुनी र प्राविधिक कारणले अवरुद्ध हुँदै आएको थियो । पटक–पटक सूचना जारी भए पनि कार्यान्वयनमा समस्या देखिएको सडक विस्तारका लागि प्रशासनले शनिबार माइकिङ र सूचनामार्फत अन्तिम चेतावनी दिएको थियो । सोही सूचनाका आधारमा आइतबार बिहानैदेखि डोजर प्रयोग गरी सडक सीमा खाली गराउने काम सुरु गरिएको हो ।
सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार त्रिभुवन राजपथको स्तरोन्नति र सडक फराकिलो बनाउने कार्यलाई अब निरन्तरता दिइनेछ । सडक सीमाभित्र रहेका जुनसुकै संरचना हटाएर सडकको मापदण्ड कायम गर्ने सरकारको योजनाअनुसार नै आजको कार्य अगाडि बढाइएको प्रशासनले जनाएको छ ।