बारा। बाराको जीतपुरस्थित गौशालाको नाममा रहेको सार्वजनिक जग्गा जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्ण रूपमा खाली गराएको छ। लामो समयदेखि ६ लेन सडक नजिकै बहुमूल्य उक्त जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचनाहरू नगरपालिकाले डोजर प्रयोग गरी हटाएको हो।
उपमहानगरपालिकाले यसअघि सार्वजनिक सूचना जारी गर्दै वैशाख २ गतेसम्म अतिक्रमित संरचना हटाउन व्यवसायीहरूलाई अल्टिमेटम दिएको थियो। तोकिएको समयसीमाभित्र केही व्यवसायीले स्वेच्छाले संरचना हटाए पनि अधिकांशले अटेरी गरेपछि बुधबार र बिहीबार नगरपालिकाको टोली डोजरसहित स्थलमा पुगेको थियो।
डोजर लिएर पुगेको टोलीलाई सुरुमा केही व्यवसायीहरूले सामान्य प्रतिकार गर्ने प्रयास गरेका थिए। तर, नगर प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरीको ठूलो उपस्थितिसँगै कडाइ अपनाइएपछि अवस्था नियन्त्रणमा आएको थियो। प्रशासनको कडा रुख देखेपछि व्यवसायीहरूले आफैँ आफ्ना संरचना र सामान हटाउन थालेका थिए।
अतिक्रमण हटाउने क्रममा गौशालाको जग्गामा सञ्चालित मासु पसल, खाजाघर, कबाड संकलन केन्द्र, भेटेनरी पसलका साथै गुट्खा, चुरोट र पेय पदार्थ बिक्री गर्ने दर्जनौँ पसलहरू विस्थापित भएका छन्। वर्षौँदेखि अवैध रूपमा ओगटिएको क्षेत्र अहिले पूर्ण रूपमा खाली भएको छ।
यद्यपि, सोही स्थानमा आश्रित रहेका साना व्यवसायीहरूले रोजीरोटी गुमेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले आफूहरूलाई वैकल्पिक स्थानमा व्यवस्थापन गर्न, भविष्यमा सटर निर्माण भएमा प्राथमिकता दिन तथा पुनः व्यवसाय सञ्चालनको अवसर प्रदान गर्न माग गरेका छन्।
उपमहानगरपालिकाले भने सार्वजनिक सम्पत्तिको संरक्षण आफ्नो प्राथमिक दायित्व भएको उल्लेख गर्दै गौशालाको जग्गालाई व्यवस्थित बनाइने र अतिक्रमण हटाउने अभियान अन्य वडाहरूमा समेत निरन्तर सञ्चालन गरिने जनाएको छ।