गृहमन्त्री रमेश लेखकले नेपालको भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नुभएको छ । आइतबार प्रेस युनियन पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधि रोक्न नेपाल सरकार उच्च सतर्कतामा रहेको बताए।भारतीय सञ्चारमाध्यममा आएको “नेपाली बाटो प्रयोग गरी तीन आतङ्ककारी भारत प्रवेश ” भन्ने समाचारमा सत्यता नभएको भन्दै उहाँले त्यसको खण्डन समेत गरे। उहाले नेपालको भूमिबाट दुवै छिमेकी मुलुकलाई अहित हुने कुनै पनि गतिविधि हुन दिइँदैन।गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लुम्पियाधुरा र कालापानीबारे चीनसँग व्यक्त गरेको चासोको प्रशंसा गर्दै यी भूभाग नेपालकै भएको प्रष्ट पारे। उहाँले भन्नुभयो “यसमा कसैले चित्त दुखाउनु पर्ने कारण छैन, यसले दुई देशबीचको सम्बन्धमा असर गर्दैन।”
“मेयर राजेशमान सिंहको मुद्दा कानुन अनुसार टुंगिने”
वीरगञ्जका मेयर राजेशमान सिंहसम्बन्धी मुद्दाबारे प्रश्न उठ्दा गृहमन्त्री लेखकले कानुनअनुसारै टुंगो लाग्ने स्पष्ट पारे। उहाँले मन्त्रीको इच्छाअनुसार कसैलाई कारबाही वा छुट नहुने र सबै प्रक्रियाले कानुनी आधारमा न्याय पाउने कुरा दोहोर्याए।
भिजिट भिसासम्बन्धी विवादलाई अनावश्यक राजनीति गरिएको भन्दै उहाँले आफूमाथि लगाइएका आरोप असत्य भएको बताए। लेखकका अनुसार, आफूमाथि आरोप लगाउने व्यक्तिहरू नै भिजिट भिसाको दुरुपयोग गरेर मन्त्री बनेका थिए र अहिले सहकारी ठगी आरोपमा जेलमा छन्।
सीमावर्ती अवैध गतिविधि नियन्त्रणमा कडाइ
गृहमन्त्री लेखकले सीमावर्ती क्षेत्रमा हुने अवैध निकासी–पैठारी नियन्त्रणका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए। , “कडाइ गर्दा स्थानीयलाई गुनासो हुन्छ, खुकुलो गर्दा व्यापारीसँग मिलेर खुकुलो गरियो भन्ने प्रश्न आउँछ। त्यसैले नियन्त्रणका लागि विशेष कदम चालिन्छ।”
मल र हैजा नियन्त्रणबारे प्रतिबद्धता
गृहमन्त्री लेखकले किसानलाई सहज ढंगले मल उपलब्ध गराउन सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए। साथै, हाल वीरगञ्जमा देखिएको हैजाको अवस्थाबारे विज्ञ टोली गठन गरी कारण पहिचान गरेर अघि बढ्ने घोषणा गरे।
लेखकले नेपालको संविधान र लोकतन्त्र सुरक्षित रहेको जिकिर गर्दै, बेला–बेला राजतन्त्र पक्षधरले गर्ने गतिविधिबाट लोकतन्त्र कमजोर नहुने दाबी गरे। उनले लोकतन्त्र, शान्ति र समृद्धिका लागि सञ्चारकर्मीको भूमिकालाई महत्वपूर्ण बताउँदै भने, “राजाको समयमा नागरिकले स्वतन्त्रतापूर्वक प्रश्न गर्न पाउँदैनथे, गणतन्त्र आएपछि सबै नागरिकले निर्धक्क प्रश्न गर्न पाएका छन्।”