वीरगञ्ज– नारी शिल्प कला केन्द्र बीरगञ्ज वडा नम्बर ११ को आयोजना र बीरगञ्ज महानगरपालिका वडा नम्बर ११ वडा कार्यालयको सहयोगमा दुई महिने निःशुल्क सिलाई कटाई तालिम सञ्चालन भइरहेको छ। यस तालिममा ३० जना महिलाहरूले भाग लिएका छन्, जसले विभिन्न प्रकारका भोटो र अन्य घरपरिवारका लागि आवश्यक सिलाइका काम सिकिरहेका छन्।
प्रशिक्षक पार्वती कुमारी ठकुरीका अनुसार, महिलाहरूलाई तालिमका माध्यमबाट घर परिवारको लागि एडभान्स सिलाई कटाई सिप प्रदान गरिएको छ। उनले दुई सिपमा तालिम दिइरहेको बताउँदै तालिमका सहभागी महिलाहरू अब घरमै सिलाउने काम गरेर आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेका छन्।
नारी शिल्प कला केन्द्र पर्साका कोषाध्यक्ष कलादेवी दासका अनुसार, महिलाहरूलाई आर्थिक आत्मनिर्भरता प्राप्त गर्नका लागि हरेक वर्ष यस्ता सिपमूलक तालिमहरू सञ्चालन गरिन्छ। यस तालिमले महिलाहरूलाई आफ्नो क्षमता बढाउने मौका दिन्छ र रोजगारी वा आफ्नो व्यवसाय खोल्ने अवसर प्रदान गर्दछ।
दासले थपे, "महिला र पुरुषलाई पहिले आफैंलाई सक्षम बनाउनु पर्ने हुन्छ, र यस्ता तालिमले उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत पुर्याउँछ।"
तालिमका क्रममा, नारी शिल्प कला केन्द्रका अध्यक्ष सीता ढकाल, कोषाध्यक्ष कलादेवी दास, सहसचिव रिमा कर्ण र सदस्यहरू सविता गिरी, शिला सहनी र सरस्वती हजारा जस्ता व्यक्तिहरूले अनुगमन र निगरानी गर्दै महिलाहरूलाई सिप सिकाउन योगदान पुर्याइरहेका छन्।
यस तालिमले महिलाहरूलाई न केवल नयाँ सीपहरू प्रदान गरेको छ, अपितु यसले उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा सकारात्मक प्रभाव पारिरहेको छ।