काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ। बैठकका सबै तयारी पूरा भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
सभापति शेरबहादुर देउवा पनि लामो अन्तरालपछि पहिलोपटक औपचारिक रूपमा सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका छन्। जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटपिटको घटनापछि देउवा पार्टी कार्यक्रमहरूमा सहभागी भएका थिएनन्। पौडेलका अनुसार, देउवा आजको बैठकमा उपस्थित हुने निश्चित भएको छ।
बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे शीर्ष नेताहरूबीच सहमति नजुटेकाले बैठकअघि बिहान ११ बजे कार्यसम्पादन समिति बैठक बोलाइएको छ। उक्त बैठकबाट एजेण्डाको अन्तिम टुंगो लगाइने तयारी गरिएको छ। सहमति नजुटेकै कारण आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भई आजका लागि सारिएको हो।
यसैबीच, पार्टीभित्र विशेष महाधिवेशन आह्वानका लागि आवश्यक हस्ताक्षर संकलनको अन्तिम म्याद पनि आज बिहान १० बजेसम्मका लागि तोकिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा संकलित हस्ताक्षर देशभरका जिल्ला समितिबाट संकलित भइरहेका छन्। स्रोतका अनुसार, हालसम्म हस्ताक्षर संख्या केन्द्रीय समितिको करिब ५१ प्रतिशत पुगेको दाबी गरिएको छ।
आजको बैठकमा विशेष महाधिवेशनको प्रस्ताव, आगामी राजनीतिक रणनीति, आन्तरिक एकता, र हालको राष्ट्रिय राजनीतिक परिस्थिति सम्बन्धी विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। पार्टीभित्र देउवा नेतृत्व र सुधारवादी समूहबीच देखिएको असहमति समाधानका लागि पनि यो बैठकलाई निर्णायक मानिएको छ।