काठमाडौं । प्रतिनिधि सभा विघटनजस्तो गम्भीर राजनीतिक मोडमा सभामुख देवराज घिमिरेले आयोजना गरेको सर्वदलीय बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूरै बेवास्ता गरिदिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अन्य प्रमुख दलका नेताहरूको छलफल चलिरहँदा, रास्वपाको बेन्च भने खाली रह्यो— जसले गर्दा अहिले राजनीतिक वृत्तमा धेरैको ध्यान तानिएको छ । प्रतिनिधि सभा विघटनका विषयमा दलहरूको आधिकारिक राय माग्न सभामुखले बोलाएको यो महत्वपूर्ण बैठकमा रास्वपाबाट कोही पनि प्रतिनिधि उपस्थित भएनन् ।
किन भएन सहभागी ?
रास्वपाका नेता सन्तोष परियारले पार्टीको तर्फबाट सभामुखलाई अनुपस्थितिको सूचना गराइसकेको बताएका छन् । उनको भनाइ अनुसार, ‘पार्टी काम र पार्टीको सचिवालय बैठक बिहान ११ बजे नै भएकाले बैठकमा सहभागी हुन सम्भव भएन । यद्यपि, यो अनुपस्थिति केवल ‘कार्यतालिकाको जुधाइ’ मात्र नभएर रास्वपाको प्रष्ट राजनीतिक अडानको कडा संकेतका रूपमा बुझिएको छ । रास्वपाले संसद् पुनर्स्थापनाको पुरानो माग र बहसमा समय खर्चनुभन्दा ‘फ्रेस म्यान्डेड’ अर्थात् चुनावको तयारीमा जुट्ने नीति लिइसकेको छ । नेता परियारले थपे, ‘प्रतिनिधि सभा विघटनबारे हाम्रो कुरा आइसकेको छ।’
रास्वपाका प्रवक्ता मनिष झाले पार्टीको यो अडानलाई थप पुष्टि गर्दै, २३ भदौको आन्दोलनले निम्त्याएको क्षतिपछि नै पार्टीले तुरुन्तै चुनावमा जाने निर्णय लिएको जानकारी दिएका छन् । प्रवक्ता झा भन्छन्, ‘हामी चुनावको तयारीमा लागिसक्यौं। उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा आगामी २१ फागुनको चुनावका लागि बाचा पत्र बनाउने काम भइराखेको छ।’
यसले देखाउँछ कि रास्वपा अब संसद्को आयु बढाउने वा पुनर्स्थापनाको पक्ष–विपक्षमा हुने बहसमा आफ्नो समय खेर फाल्न चाहँदैन। बरु, उनीहरू सिधै जनताको माझमा गएर नयाँ शक्तिको रूपमा स्थापित हुने दौडमा होमिएका छन्।