सम्पत्ति शुद्धीकरण विभागले माओवादी अध्यक्ष प्रचण्ड र उनका परिवारका सदस्यमाथि अनुसन्धान सुरु गरेपछि पार्टी आत्तिएको छ। प्रचण्डले नारायणकाजी श्रेष्ठ र वर्षमान पुन अनन्तलाई प्रधानमन्त्रीसँग भेट गरी अनुसन्धान रोक्न आग्रह गर्न पठाएका थिए।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा अनन्तले भने, “२३ गते त्यत्रा दर्जनौं नानीहरुको हत्या गर्नेहरुलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने विचौलियाहरुलाई केही नगर्ने, अनि प्रचण्ड कमरेडतिर गएर तर्साउन खोज्ने प्रवृत्ति हामी स्वीकार्दैनौं। हाम्रा नेतातिर तेर्साउन खोज्ने हामी स्वीकार्दैनौं। यस प्रकारका बेठिक प्रवृत्ति हामीले सहन सक्दैनौं।”
अनन्तले थपे, “हामी कांग्रेस–एमालेभन्दा फरक हौं। चुनावमा जान खोजिरहेका छौं, तपाईंहरुलाई सहयोग पनि गरिरहेका छौं, तर हामीलाई जबरजस्ती कांग्रेस–एमालेतिर धकेल्न खोजिएको छ।”
उनले माओवादी शान्ति, लोकतन्त्र र प्रगतिको पक्षमा रहेको भन्दै पार्टीलाई हेप्न खोज्ने प्रवृत्ति छोड्न आग्रह गरे।
जेनजी आन्दोलनले प्रचण्ड परिवारको विलासी जीवन र अस्वाभाविक सम्पत्तिको विषयमा पटक–पटक आलोचना गर्दै आएको छ। ‘नेपो बेबी’ अभियानमा प्रचण्डकी छोरी गंगा दाहाल महँगो रोलेक्स घडी र गुची झोला बोकेको आरोपमा मुख्य पात्र रहिन्। गंगाका पति जीवन आचार्यको पनि अस्वाभाविक सम्पत्ति रहेको भनेर जनताले प्रश्न उठाइरहेका छन्।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानले गठबन्धन फेर्दै पटक–पटक प्रधानमन्त्री बनेका प्रचण्डले सरकारमा रहँदा विभिन्न लाइसेन्स वितरणमा भूमिका खेलेको आरोपसमेत उजागर गर्ने अनुमान गरिएको छ।