पर्साको पकहाँमैनपुर गाउँपालिकामा स्थानीय युवाहरूले सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन । गाउँपालिकाभित्र पछिल्ला दिनहरूमा सेवा वितरण, योजना कार्यान्वयन र प्रशासनिक कामकाजमा देखिएको लापरवाही, अनियमितता र भ्रष्टाचारका घटनाहरूले युवाहरू आक्रोशित हुदैं सो आन्दोलनको चेतावनी दिएका हुन ।
सोमवार पकहाँमैनपुर गाउँपालिका युवा सञ्जाल र जेनजी युवा समूहले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउदैं जनताको आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र सरसफाइ जस्ता क्षेत्रमा देखिएको कमजोरी तत्काल सुधार गर्न माग गरेका छन । साथै, पालिकाका योजना चयन, बजेट वितरण, कामको अनुगमन र सार्वजनिक सुनुवाइ प्रक्रिया पारदर्शी बनाउन पनि माग गरिएको छ ।
युवाहरूले गाउँपालिकाले सञ्चालन गर्ने परियोजनामा राजनीतिक पूर्वाग्रहका आधारमा ठेक्का र योजनाको वितरण गरेको आरोप लगाएका छन,भने कतिपय वडामा आवश्यक परियोजना सुस्त गतिमा चलिरहेको र कतिपय ठाउँमा काम अलपत्र अवस्थामा रहेको बताएका थिए ।
ज्ञापनपत्र बुझाउने क्रममा युवा सञ्जालका अध्यक्ष अकलेश कुमार साहले आन्दोलनमा गाउँका सरोकारवालाहरू, विद्यार्थी, किसान र नागरिक समाजको सहभागिता रहने बताएका छन । उनले भने हाम्रो मांग जनताको हितमा छ, र यसको बिवरण सहित लिखित जवाब तथा सुचना १५ दिनभित्र उपल्बध गराउने बताएका थिए । उनले स्थानीय सरकारलाई जनताको उत्तरदायी र पारदर्शी निकायको रूपमा व्यवहार गर्न आग्रह समेत गरेका थिए ।
त्यसैगरी, जेनजी युवा समुहका अध्यक्ष भगवान कुर्मीले भने “हामी विकास विरोधी होइनौं, तर जनता ठगिने र योजना कागजमै सीमित हुने अवस्थाको अन्त्य गर्न चाहन्छौं । पालिकाले १५ दिनभित्र सुधारका ठोस कदम नचाले हामी सडकमा उत्रिन बाध्य हुने बताए । उनले भने “युवाहरू परिवर्तनका अग्रदूत हुन । हाम्रो ध्येय धम्की होइन, सुधार हो । तर, ज्ञापनपत्रको मान नराखिए पालिकाको जनप्रतिनिधिले सुधारको बाटो अपनाएन भने जनताको हकहितका लागी शान्तिपूर्ण देखि चरमबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।

ज्ञापनपत्र बुझ्दैं गाउँपालिका प्रमुख सुरेश मेहताले कार्यालयले विषयवस्तु अध्ययन गरी आवश्यक छलफलपछि जवाफ दिने बताएका थिए ।
सो अवसरमा पकहाँमैनपुर गाउँपालिकाका प्रशासन शाखा प्रमुख, वडा नम्बर ३ का वडा अध्यक्ष संजय चौहान, युवा सञ्जालका पदाधिकारी, सदस्य, युवा अभियान्ता राजेश सहनी, मखु दाश तात्वा, मोटर बरनवाल, राजन साह, गाया चौहान, जेनजी युवा समुहका सदस्य चंदन पटेल, नितेश यादव, अकाश पटेल, निरज पटेल लगायत स्थानिय बुद्धिजिवि, सुरक्षाकर्मी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।