काठमाडौँ । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फर्किएलगत्तै सक्रियता बढाएका छन्। एक महिनादेखि जारी केन्द्रीय समिति बैठक अनिर्णीत बनेपछि देउवा आफैँले सक्रियता बढाएका हुन् । असोज २८ गतेबाट जारी कांग्रेसको केन्द्रीय समिति बैठक १५ औँ महाधिवेशन अघि कि पछि भन्नेमा अल्झिँदा अझै निर्णय पुग्न सकेको छैन। बिहीबारदेखि पटक पटक स्थगित हुँदै आएको बैठक अब बिहीबारको लागि बोलाइएको छ।
पटक पटक बैठक सार्दा राम्रो सन्देश नजाने भन्दै देउवाले समस्या सल्टाउने प्रयास गरेका हुन् । खड्कालाई कार्यवाहक जिम्मेवारी दिइसकेकाले बैठकमा भने उपस्थित नहुने नेताहरू बताउँछन् । शुक्रबार राति काठमाडौँ ओर्लिएका देउवाले शनिबारदेखि नै राजनीतिक भेटघाट भएका थिए। उनले अहिलेसम्म कावा सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा। प्रकाशशरण महत, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की लगायतलाई बोलाएर छलफल गरिसकेका छन्।
देउवा भेटेका प्रवक्ता महतले चुनावलाई प्राथमिकता दिन भनेको बताए। उनले भने, ‘उहाँले तपाईँहरूले नै टुङ्ग्याउनुस् भनेर जिम्मेवारी दिनुभएको छ। तर हामी निर्वाचनलाई प्राथमिकतामा राख्नुपर्छ भन्नुभएको छ।’ उनले कार्यवाहक जिम्मेवारी दिए पनि पार्टीको विषयमा परामर्श लिनु स्वाभाविक भएको जिकिर गरे। उनले थपे, ‘सभापतिको रूपमा सल्लाह त हुन्छ नै। तर कार्यवाहक फिर्ता लिने उहाँको कुरा छैन। उहाँ निर्वाचित सभापति नै हो नि। त्यसो भएकाले छलफल नै गर्ने भन्ने हुँदैन। हामी आफैँ परामर्श माग्न जान्छौँ।’
उनले चुनाव अगाडि महाधिवेशन गर्न सम्भव नभएको बताए। उनले भने, ‘चुनाव अगाडि कसरी महाधिवेशन हुन्छ तरु चुनावको कार्यतालिका आइसक्यो आफैँ लडेर बस्ने कि चुनावको तयारीमा लाग्ने रु भन्ने भइसकेको छ। अब महाधिवेशनको टाइम छैन।’
चुनावमा जाँदै गर्दा क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको पक्षमा माहौल बन्न सक्ने उनको विश्वास छ। ‘चुनावअघि क्रियाशील सदस्यताको विषय टुङ्ग्याउने, चैतबाट वडा अधिवेशन गरेर वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका आउँछ’ प्रवक्ता महतले भने।
उनले महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको जिम्मेवारी लिएर पूरा गर्न नसकेको आरोप लगाए। उनले थपे, ‘महामन्त्री आफैँ महाधिवेशनको जिम्मेवारी लिएको मान्छे हो, आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने रु अब नियमित महाधिवेशन हुँदैछ त विशेष महाधिवेशन किन चाहिएको छ र रु उहाँले नै पुसमा गर्ने भनेर प्रस्ताव ल्याउनुभएको छ। मंसिरमा कार्यकाल सकिँदै छ पुसमा गर्ने भनेपछि म्याद थप गर्न परिहाल्यो नि। एक महिना थप्न मिल्ने चुनावको मुख वैशाखसम्म गरौँ भन्न नमिल्ने भन्ने हुँदैन ।’
उनले बिहीबार बस्ने बैठकले विधान अनुसार नै कार्यसमितिको म्याद थप गर्ने निर्णय लिने दाबी गरे। ‘विधानले दिएको व्यवस्था अनुसार नै केही समय थप गरौँ भनेको हौँ। आम निर्वाचन आइरहेको छ, यो भन्दा विशेष परिस्थिति के चाहियो रु संकटबाट पार्टी गुज्रिरहेको छ। हामीले वर्षौँ थप्ने भनेका छैनौँ’ उनले भने।
परामर्शमा पूर्णबहादुर
केन्द्रीय समिति बैठकमा सहमति नजुटेपछि बैठक रोकेर कावा सभापति खड्का पनि सबैसँग परामर्शमा छन्। शुक्रवार बसेको कार्यसम्पादन समिति बैठक अनुसार खड्काले अहिले पदाधिकारीबाहिरका शीर्ष नेताहरूसँग पनि एक्लाएक्लै भेटवार्ता गरिरहेका छन्।
खड्काले महामन्त्रीद्वयसँगै इतर पक्षका नेता डा। शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइरालालगायत नेताहरूसँग बेग्लै संवाद गरेर सहमति जुटाउने प्रयास जारी राखेका छन्।
सभापति देउवा फर्किएलगत्तै संवादमा जोडिएका खड्काले बैठकमा मध्यमार्गी प्रस्ताव ल्याएर सर्वसम्मत गराउने प्रयास गरिरहेका छन्। सहमहामन्त्री किशोरसिंह राठौर पनि खड्काले सबै नेताहरूसँग संवाद गरिरहेको बताए।
उनले भने, ‘हामीले पूर्ण दाइलाई जिम्मेवारी दिएका छौँ। उहाँसहित उपसभापति र महामन्त्रीहरूले पनि सहयोग गर्नुहुन्छ। पदाधिकारी बाहिर रहेका नेताहरूसँग पनि छलफल गरेर निकास निकाल्नुहुन्छ।’
अर्का सहमहामन्त्री महेन्द्र यादव पनि चुनावअघि महाधिवेशन गर्न सम्भव नभएको दाबी गर्छन्।
संस्थापन पक्षको तर्फबाट वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव राखेका यादवले भने, ‘चुनावको मिति नजिक आइसक्यो। अब उम्मेदवार छनोटतिर एकताबद्ध भएर लाग्ने बेलामा महाधिवेशन गर्न सम्भव हुँदैन भन्ने हाम्रो साझा बुझाइ हो।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि चुनावपछि नै महाधिवेशन गर्ने गरी मनाउने प्रयास भइरहेको बताए। उनले भने, ‘उहाँहरूले चुनावमा जान नयाँ अनुहार चाहियो भन्नुहुन्छ। शेरबहादुर दाइले पूर्णबहादुर दाइलाई कार्यवाहक दिइसक्नुभएको छ। उहाँ नयाँ अनुहार भइहाल्नुभयो नि।’
विशेष महाधिवेशनतिर अघि बढेको हो ?
कांग्रेस विधानको १७ ९२० अनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित लिखित रूपमा माग गरेको अवस्थामा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। महामन्त्री थापा र शेखर निकट नेताहरूको अगुवाइमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित असोज २९ गते नै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर दर्ता गराइएको छ।
कांग्रेसको विधानमा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।’
माग भएअनुसार कांग्रेसले पुस २९ भित्रमा विशेष महाधिवेशन गर्नुपर्ने बाध्यता छ। तर, संस्थापन पक्ष हस्ताक्षरको वैधानिकतामाथि प्रश्न उठाउँदै टार्ने दाउमा छ। महामन्त्रीले हस्ताक्षर संकलन गरेर पार्टीमा विभाजनको रेखा कोरेको संस्थापन पक्षको आरोप छ।
संस्थापन पक्षका नेता मात्रै होइन, इतर पक्षका नेता शेखर कोइरालाले पनि विशेष महाधिवेशनको माग गर्दै भएको हस्ताक्षर रुजु गर्नतिर लाग्दा पार्टी अफ्ठेरोमा पर्नसक्ने चेतावनी दिएका छन्।
उनको भनाइ छ, ‘विशेष महाधिवेशनको माग गर्नेहरूको हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजनको मनोविज्ञान सिर्जना गर्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि। बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना हुन्छ। त्यसैले केन्द्रीय समितिबाटै निर्णय गर्नुपर्छ।’
नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्न बाध्यात्मक स्थिति हुने उनको पनि तर्क छ।
संस्थापन पक्षले विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्दै बहुमतले निर्णय गर्न खोजेपछि महामन्त्री थापाले नियमित गर्नका लागि नेताहरू सदस्यताको विषय देखाएर पन्छिएको भन्दै मंसिर २७ गतेका लागि विशेष महाधिवेशन हुने दाबी गरेका छन्।
बिहीबारको बैठकमा उनले भनेका थिए, ‘मैले नियमित अधिवेशन गर्न सकिन्छ भनेँ तपाईँहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो। अब नियमित अधिवेशनको अध्याय बन्द भयो। मंसिर २७ मा विशेष महाधिवेशन हुन्छ।’
अधिवेशन नगरी निर्वाचनमा जानु भनेको गल्ती कमजोरी स्वीकार नगरी जनादेश माग्न गएको हुने उनको तर्क छ। उनी मात्रै होइन, अर्का महामन्त्री शर्माले पनि नियमित नभए विशेष महाधिवेशनको विकल्प नभएको बताउँदै आएका छन्। हिजो पार्टी सभापति देउवासँगको भेटमा पनि विशेष महाधिवेशन पक्षधरको मागलाई बेवास्ता गर्दै अघि बढे महामन्त्री पदबाट राजीनामा दिने चेतावनी दिएका थिए।
महाधिवेशन नगरे अर्को कदम चाल्ने चेतावनी
कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्नका लागि अगुवाइ गरेका नेता गुरुराज घिमिरे आफूहरूको मागप्रति केन्द्रीय समिति गम्भीर नभएको आरोप लगाए।
उनले भने, ‘देशको परिवर्तित राजनीतिक परिस्थितिप्रति केन्द्रीय कार्यसमितिले गम्भीरता प्रदर्शन गरेन। यस्ता विषयमा तत्काल केन्द्रीय समिति बैठक बसेर निर्णय गरिसक्नुपर्थ्यो। अनावश्यक रूपमा महिनौँसम्म बैठक लम्ब्याएर महाधिवेशन नगर्ने उद्देश्य देखाएको छ।’
केन्द्रीय समिति बैठकले बहुमतको आधारमा पेलेरै भएपनि कार्यसमितिको म्याद थप गर्ने निर्णय लिन खोजेको उनको पनि आशङ्का छ।
उनले थपे, ‘अब उहाँहरूको कुरा सुन्दा कार्यसमितिको म्याद थप गर्नेतिर जाने देखिएको छ, हामी विशेष महाधिवेशन पक्षधरको बैठक बसेर आवश्यक निर्णय लिन्छ, हिजो महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मुद्दालाई बेवास्ता गरे राजीनामा दिन्छु भन्नुभयो, त्यसलाई हामीले सकारात्मक रूपमा लिएको छौँ।’
उनले लोकतान्त्रिक पार्टीमा निर्वाचित महामन्त्रीले सभापतिलाई पदबाट राजीनामा दिन्छु भन्ने कुरा सामान्य नभएको बताए।
घिमिरेले थपे, ‘उहाँहरूले जुन विषयलाई पनि समान्यरुपमा लिइराख्नुभएको छ। हामी अब चुप बस्दैनौँ।’ पार्टी विभाजन भन्दा पनि आफूहरू एकताबद्ध बनाएर जानुपर्छ भन्ने पक्षमा रहेको बताए।
‘हामी एकताको पक्षधर हौँ। पार्टी विभाजनको कल्पना गरेका छैनौँ। हामीले विधानको बाटोबाटै विशेष महाधिवेशनको माग गरेका हौँ। समयमै नियमित महाधिवेशन भए हाम्रो माग सम्बोधन हुन्छ भनेर हामी स्वीकार्न तयार छौँ’ उनले चेतावनी दिँदै भने, ‘तर हामीले यति भन्दाभन्दा हाम्रो मागलाई नजरअन्दाज गरेर अघि बढ्नुहुन्छ भने त्यसबाट हुने क्षतिको दोषी उहाँहरू नै हुनुहुन्छ।’
देउवामाथि ‘६ भाइ’को दबाब
१४ औँ महाधिवेशनमा देउवा प्यानलबाट जितेका पदाधिकारीहरू चुनावअघि महाधिवेशनको पक्षमा उभिएपछि संस्थापन पक्ष दबाब छ। बहुमत पदाधिकारी चुनावअघि नै महाधिवेशन गरेर नयाँ नेतृत्वका साथ पार्टी अघि बढाउनुपर्छ भन्ने पक्षमा देखिएका छन्।
संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशनको माग गर्दै कावा खड्कालाई संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै गर्दा ६ पूर्वपदाधिकारी विपक्षमा छन्।
कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, डा। शशांक कोइराला र डा। प्रकाशशरण महत भने चुनावअघि महाधिवेशन गर्न नहुने पक्षमा दबाब बढाउँदै गइरहेका छन्।
विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीहरूले बहुमत प्रतिनिधिको हस्ताक्षर संकलन गरेपछि संस्थापन पक्षका केही नेताहरू तरङ्गित बनेको इतर पक्षका एक नेताले बताए।
ती नेताले भने, ‘गगन दाइले पार्टीमा प्रभाव बढाएपछि आगामी नेतृत्व आफूनिकट आउँदैन भन्ने बुझेर संस्थापन पक्षका पूर्वपदाधिकारीहरू महाधिवेशन रोक्ने खेलमा लागेका छन्, उनीहरूकै प्यानलबाट जितेका पदाधिकारीले गगन दाइलाई सभापति र आगामी प्रधानमन्त्रीको रूपमा अघि सार्नुपर्ने प्रस्ताव राखेपछि रोक्न एकजुट गएको देखिन्छ।’
संस्थापन पक्षबाट जितेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगनको विकल्प नभएको प्रस्ताव बैठकमै राखेका थिए। महाधिवेशन रोकेर आफूनिकट नेताहरूलाई टिकट बाँड्ने खेलमा संस्थापन पक्ष रहेका ती नेताको आरोप छ।