नेकपा (एमाले) ले केन्द्रीय कमिटीमा १० प्रतिशत युवा समेट्ने तयारी गरेको छ। ११ औं महाधिवेशनदेखि यो व्यवस्था लागू गर्ने तयारी भइरहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
‘४० वर्ष मुनिका युवालाई महाधिवेशन प्रतिनिधि निर्वाचित गरेर ल्याइसकेपछि स्वतः केन्द्रीय कमिटीमा उनीहरूको प्रतिनिधित्व भइहाल्छ। तर कति सहभागी गराउने भन्ने निर्णय भइसकेको छैन। महाधिवेशनको हलले नै यसबारे निर्णय लिनेछ,’ ज्ञवालीले बताए ।
उनका अनुसार एमालेले अहिले प्रदेश कमिटीदेखि मुनिका कमिटीमा यो व्यवस्था लागू गरेको छ। प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व गराइएको छ।
त्यस्तै जिल्लामा १५, पालिका तहको कमिटीमा २०, वडा तहको कमिटीमा २५ र सेल कमिटीहरूमा एक तिहाइ युवाको प्रतिनिधित्व गराउने व्यवस्था छ।‘यसपटक हामीले केन्द्रीय कमिटीमा पनि गराउँछौं। तर संख्या भने यकिन भइसकेको छैन। सम्भवतः १० प्रतिशत घट्दैन,’ ज्ञवालीले भने।
अहिले भूगोलअन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रबाट एकएक जना युवा प्रतिनिधिका रूपमा छानिएर आएका छन्। विशेष लगायत गैरभौगोलिक कमिटीबाट पनि युवाहरूको प्रतिनिधित्व भएको छ।
अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेशनल भोलेन्टियर फोर्स आदि संगठनबाट युवाकै प्रतिनिधित्व हुने नै भयो। यसरी अहिले करिब दुई सय जना युवा महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएर आएका छन्।
दोस्रो विधान महाधिवेशनले केन्द्रीय कमिटीको आकार घटाएको छ। एमालेको मौजुदा केन्द्रीय कमिटी ३५५ सदस्यीय छ। विधान महाधिवेशनले तय गरेको प्रावधानअनुसार अब १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछन्।
पदाधिकारीको संख्या पनि हाल कायम रहेको १९ सदस्यबाट घटाएर १५ मा झारिएको हो। जसअनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिवहरू ७ जना रहनेछन्। वरिष्ठ उपाध्यक्ष हटाइएको छ। उपाध्यक्ष र अन्य पदाधिकारीको वरीयता केन्द्रीय कमिटीले निर्धारण गर्नेछ।
एमालेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागिकम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्ने व्यवस्था छ। तर महिला दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी–जनजाति र अपांगता भएकाको हकमा प्रावधान थोरै खुकुलो छ। उनीहरूको हकमा सात वर्ष पार्टी सदस्य भई काम गरेको भए पुग्ने व्यवस्था छ। सभार : सेतोपाटी