नेकपा (एमाले) निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश नेपाली निषादले अध्यक्ष केपी शर्मा ओली पार्टीको अपरिहार्य नेतृत्वकर्ता भएको दाबी गरेका छन । उनले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने वातावरण पूर्णरूपमा तयार भएको पनि बताएका छन ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बिषयमा कुरा गर्दै निषादले भने, “नेकपा एमाले केपी शर्मा ओली बिना अनाथ नै हुन्छ । पार्टीमा उनको विकल्प आज पनि छैन । उम्मेदवार बन्नु वा उम्मेदवारी दिनु लोकतान्त्रीक प्रक्रिया हो तर कुरा चलीरहेछ, सहमती र सहकार्यको संवाद चलिरहेको छ, महाधिवेशनमा अध्यक्ष पदका लागि ओलीको नाम एकल रूपमा अगाडि बढ्नेछ, यसमा कुनै द्विविधा नरहेको उनले ठोकुवा गरे ।
नेता निषादले महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वबारे कुनै विवाद नरहेको र अधिकांश संरचना तथा भातृ संगठनहरू ओलीकै नेतृत्व निरन्तरताको पक्षमा रहेको बताए ।
अध्यक्ष निषादले ओलीको राजनीतिक भूमिकालाई राष्ट्रहितसँग जोड्दै उनै “देशको कठिन परिस्थितिमा प्रभावकारी नेतृत्वकर्ता” रहेको दाबी गरे । उनले भने, “केपी शर्मा ओलीले राष्ट्र र राष्ट्रियताको हितमा नायकको भूमिका निर्वाह गरेका छन । उनी जस्तो साहसिक निर्णय क्षमता राख्ने नेता अहिले एमालेमा छैन, भने दावी गरेका हुन । उनका अनुसार ओलीको नेतृत्वमा मुलुकले “स्वाभिमान, राष्ट्रियता र विकासको दिशा” पुनः प्राप्त गरेको दाबी गर्दै उनले पार्टीका सबै तह–गतिशीलता एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए ।
एमाले आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन प्रतिनिधि सूची अद्यावधिक गर्ने कार्यबाट महाधिवेशन पूर्वाधार लगभग टुंगिएको पार्टीले बताइरहेको छ । यसैबीच निषादले पार्टीभित्र आन्तरिक सहकार्य र समझदारीलाई अझ मजबुत बनाउने आवश्यकता औंल्याए ।
उनले भने, “देश अहिले भिसम (जटिल) परिस्थितिमा छ । यस्तो बेला पार्टीभित्र अनावश्यक विवाद होइन, सहकार्य र एकता अनिवार्य छ । देश बनाउन ओलीकै नेतृत्व तपाईँ–हाम्रो साझा दिशानिर्देशन हुने टिप्पणी गरे । उनले एमालेका सबै कार्यकर्ता, जनसमर्थक र भातृ संगठनहरूलाई महाधिवेशन सफल बनाउन एकताबद्ध भएर अघि बढ्न अपिल समेत गरे ।
एमालेको ११औँ महाधिवेशनमा अध्यक्षदेखि महासचिव तथा अन्य पदाधिकारी चयन महत्वपूर्ण हुनेछ । पार्टीभित्र नेतृत्व संरचना कस्तो बन्छ भन्ने विषयले राजनीतिक वृत्तमा चासो पैदा गरिरहेको छ । यद्यपि, निषादजस्ता नेताहरूले सार्वजनिक रूपमा ओलीको नेतृत्वबारे स्पष्ट समर्थन व्यक्त गरेपछि, अध्यक्षमा ओलीको निरन्तरताबारे महासम्मेलनमा ठूलो प्रतिस्पर्धा नदेखिने संकेत बढिरहेको छ ।
पछिल्ला केही हप्तादेखि एमालेभित्र ओली पक्षधर समूहहरू महाधिवेशन पूर्वको तयारीलाई सक्रिय बनाउँदै आएका छन । विभिन्न प्रदेश, जिल्ला र भातृ संगठनहरूको बैठक तथा परामर्शमा पनि ‘ओली निरन्तरता’ प्रमुख एजेन्डा बनेको देखिएको छ ।