काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महत्वपूर्ण निर्णय गर्दै बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रमको औपचारिक सुरुवात गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत ट्रम्पले उक्त कार्डले योग्य र परीक्षण प्रक्रिया पूरा गरेका व्यक्तिलाई ‘नागरिकताका लागि प्रत्यक्ष मार्ग’ उपलब्ध गराउने दाबी गरे। ‘यो अत्यन्तै रोमाञ्चक छ । अब हाम्रा उत्कृष्ट अमेरिकी कम्पनीहरूले आफ्नो मूल्यवान प्रतिभा जोगाउन सक्नेछन्,’ ट्रम्पले बताएका छन्।
गोल्ड कार्ड योजनाले रेकर्ड समय भित्र अमेरिकामा बसोबासको अनुमति दिनेछ। आवेदनका लागि १० लाख डलरको शुल्क तिर्नुपर्छ, जुन रकम स्वयम् अमेरिका लाभान्वित हुने प्रमाणको रूपमा लिइनेछ।
विदेशी कामदारलाई प्रायोजित गर्ने कम्पनीहरूले भने २० लाख डलर तिर्नुपर्नेछ । साथै, ५० लाख डलर तिरेर ‘प्लाटिनम’ कार्डसमेत प्राप्त गर्न सकिनेछ, जसले विशेष कर सुविधा दिने बताइएको छ।
गोल्ड कार्ड सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यसलाई आफ्नो कार्यकालको एक ठूलो उपलब्धि भएको बताए। उनले भने, ‘यो मेरो र देशको लागि धेरै खुसीको कुरा हो कि हामीले भर्खरै ट्रम्प गोल्ड कार्ड सुरु गरेका छौं। यो हाम्रो देशमा कुनै उत्कृष्ट व्यक्तिलाई ल्याउने एउटा उपहार हो।’
ट्रम्प गोल्ड कार्डले धारकहरूलाई हालको ग्रीन कार्ड धारकहरूले पाउनेजस्तै विशेष अधिकारहरू प्रदान गर्नेछ। अमेरिकामा स्थायी रूपमा बस्न, काम गर्न र पढ्न ग्रीन कार्ड आवश्यक हुन्छ।