वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । निर्वाचन पूर्व प्रत्येक वडामा सङ्गठन निर्माण गर्ने योजनाअनुरूप पार्टीले युद्धस्तरमा काम गरिरहेको जनाएको छ । यसै क्रममा पार्टीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ मा नयाँ वडा समिति गठन गरेको छ ।
पार्टीका वीरगञ्ज महानगरपालिका कमिटीका सभापति अमन आलमको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा रमेश प्रसाद चौरसियाको नेतृत्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा मनोज पण्डित, सचिवमा जहिर हुसैन, सहसचिवमा सन्तोष पटेल तथा सदस्यहरूमा रवि पण्डित, रुवी ठाकुर, माजिद आलम, राजेश पटेल, रोशन कुमार पासवना, सद्दाम हुसैनलगायत रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आलमले विगत ४० वर्षदेखि देशलाई आफ्नो बपौती ठानेर मनोमानी गर्नेहरूको अन्त्य अब निश्चित भएको बताए । उनले तथाकथित प्रमुख राजनीतिक दलहरूले सत्तालाई मात्र प्राथमिकता दिँदा देशलाई क्षति पुगेको दाबी गर्दै रास्वपानै अबको विकल्प भएको जिकिर गरे ।
आलमले रास्वपासँग एजेन्डा मात्र नभई काम गर्ने इच्छाशक्ति पनि रहेको उल्लेख गर्दै छोटो समयको सरकारमा रहँदा पार्टीले गरेको कामको सबैले प्रशंसा गरेको बताए । उनले पार्टी सभापति रवि लामिछानेले शीर्ष नेताहरूको वर्षौँदेखिको भ्रष्टाचारका फाइल खोल्न थालेपछि उनलाई जानीजानी फसाइएको आरोप पनि लगाए । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा पहिलो दल बनेर अगाडि आउने र देशमा सुशासन तथा स्थिरता कायम गर्ने आलमको दाबी छ ।
यसैबिच, रास्वपा पर्साद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाले रास्वपामा प्रवेश गरेका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा, मधेस केन्द्रित दल लगायतका विभिन्न संघ सङ्गठनहरूमा आबद्ध एक सय भन्दा बढी युवाहरूले वीरगञ्जको आदर्शनगरमा आयोजित एक अनौपचारिक कार्यक्रमका बिच पार्टी प्रवेश गरेका हुन् ।
युवाहरूले नेपालको विकास र राजनीतिक जिम्मेवारीका लागि रास्वपा मात्र एक विकल्प भएको बताउँदै पार्टी प्रवेश गरेको पार्टीका जिल्ला सभापति हरि पन्तले दाबी गरे । उनले पार्टी प्रवेश कार्यक्रमलाई निरन्तर जारी राखिने पनि बताए । रास्वपाले पर्सा जिल्लामा निरन्तर वडास्तरीय समिति गठन गर्दै सङ्गठनलाई बलियो बनाउने रणनीति अघि सारेको छ ।