विराटनगर । अन्तिरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।
विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित रहेको बताएका हुन् ।
‘निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो। निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुन्छ र देश थप अस्थिरतातर्फ धकेलिन सक्छ। त्यसैले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन’, उनले भने ।
ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्ने भएकोले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी अघि बढाएको जानकारी दिए । सुरक्षा गोष्ठी पनि निर्वाचनकै तयारी भएको उनको भनाइ छ । ‘निर्वाचनको कार्यतालिका सार्वजनिक भई सोही बमोजिम तयारी भइरहेको छ। समानुपातिक निर्वाचनतर्फको नामावली निर्वाचन आयोगमा दर्ता भइसकेको छ’, गृहमन्त्री अर्यालले भने, ‘निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकार दृढताका साथ लागेको छ ।
गृहमन्त्रालयको कार्यभार चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले जेनजी जनआन्दोलन पश्चातको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको बताए ।
सुरक्षा गोष्ठीले कोशी प्रदेशको वस्तुस्थिति र सुरक्षा वातावरण बुझ्न सहयोग पुग्ने र निर्वाचनका लागि सुरक्षित वातावरण निर्माण गर्न ठोस योजना बनाउने उनले बताए ।