काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि बनेको नयाँ राजनीतिक तालमेलअन्तर्गत नेपाली कांग्रेसले ९ सिट एमालेले ८ सिट र जसपा नेपालले १ सिट पाउने भएका छन ।
जनता समाजवादी पार्टी नेपालले वरिष्ठ नेता महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेसँग भएको सहमतिपछि जसपा नेपालले ठाकुरलाई राष्ट्रियसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको हो । तीन दलबीच भएको समझदारीअनुसार आगामी राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपाल संयुक्त रूपमा प्रतिस्पर्धा गर्नेछन् ।
तालमेलअनुसार जसपा नेपालले एक सिट पाउने सहमति भएको छ, जसका लागि पार्टीले वरिष्ठ नेता ठाकुरलाई उम्मेदवार चयन गरेको जसपा नेताहरूले बताएका छन् ।
राजनीतिक वार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकका अनुसार सुरुमा नेकपासहित व्यापक राजनीतिक तालमेलको प्रयास गरिएको थियो । तर सहमति नजुटेपछि नेकपा उक्त प्रक्रियाबाट बाहिरिएको उनले जानकारी दिए । त्यसपछि कांग्रेस, एमाले र जसपा नेपालबीच मात्रै तालमेल टुंगिएको हो ।
सहमति अनुसार कांग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले १ सिट पाउनेछन् । उम्मेदवारीको क्लस्टरसमेत टुंगिसकेको बताइएको छ ।
कांग्रेसले कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ।
एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, बागमतीमा डा प्रेमकुमार दङ्गाललाई उम्मेदवार बनाइएको छ ।
गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको हो । मधेश प्रदेशबाट रेखा झाको नाम तय भएको छ । ।