जनमत पार्टीले पर्सा क्षेत्र नम्बर–१ मा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फलाई उम्मेदवार बनाउने तयारी गरेको स्रोतले जनाएको छ। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका सरार्फ पर्सा–१ मा विकल्पका रूपमा उभिएका छन्।
अन्य मुख्य दलहरूले पुरानै अनुहारलाई अघि सारेको अवस्थामा जनमत पार्टीले युवा नेतृत्वलाई अवसर दिने रणनीतिअन्तर्गत सरार्फलाई अगाडि सारेको स्रोतको दाबी छ। जेन्जि आन्दोलनको म्यान्डेटअनुसार नयाँ र स्वच्छ नेतृत्वलाई अवसर दिने क्रममा पर्सा–१ लाई आफ्नो बलियो आधार क्षेत्रको सूचीमा राखिएको जनमतको भनाइ छ।
पछिल्लो प्रदेशसभा निर्वाचनमा तत्कालीन मुख्यमन्त्री लालबाबु गद्दीसँग प्रतिस्पर्धा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका सरार्फले सम्मानजनक मत प्राप्त गरेका थिए। उनी मधेस आन्दोलनमा सक्रिय रहँदै युवाहरूको कमान्ड सम्हालेका, आन्दोलनकै क्रममा पक्राउ परी मुद्दा समेत खेपेका नेता हुन्।
सरार्फले नरायणी अस्पतालको सुधार तथा विकासका लागि निरन्तर अभियान चलाउनुका साथै लोडसेडिङविरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए। मधेस पर्यटन प्रवर्द्धनका लागि ‘भिजिट मधेस’ अभियानमार्फत तराई–मधेसका २२ वटै जिल्लामा अभियान सञ्चालन गर्दै आएका उनी सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन्।
नरायणी रंगशालाको स्तरोन्नति, सिर्सिया नदी बचाउ अभियान लगायतमा सक्रिय सहभागिता जनाउँदै आएका सरार्फले कोरोना महामारीका बेला ‘फुड फर निडी’ अभियान सञ्चालन गरी हजारौँ सहयोगापेक्षी, कोरोना बिरामी तथा कुरुवाहरूलाई खाना, निःशुल्क एम्बुलेन्स सेवा र सडक जनावरका लागि समेत सहयोग पुर्याएका थिए।
पछिल्लो वर्षदेखि उनको नेतृत्व र पहलमा लोककल्याणकारी अभियानअन्तर्गत पर्साका गाउँ–गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। सो अभियानमार्फत १० हजारभन्दा बढीको निःशुल्क आँखा जाँच तथा एक हजारभन्दा बढीको निःशुल्क मोतियाबिन्दु अप्रेसन भइसकेको छ।
वीरगञ्ज कपडा बैंकका संस्थापकहरूमध्ये एक रहेका सरार्फले हजारौँ महिला र युवालाई सीप प्रदान गरी स्वदेश तथा विदेशमा रोजगार र स्वरोजगारतर्फ अग्रसर गराएका छन्। उनको सम्भावित उम्मेदवारी र निरन्तर सक्रियताले पर्सा–१ मा विवेकपूर्ण मतदान भएमा परिवर्तनको परिणाम सकारात्मक हुन सक्ने आकलन धेरैले गरेका छन्।