जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका तीन निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ। पार्टीको केन्द्रीय कार्यसमितिले जिल्ला कमिटीबाट सिफारिस भएका नामहरूका आधारमा उम्मेदवार चयन गरेको जनाएको छ।
यसपटक जसपा नेपालले अघिल्ला निर्वाचनमा मैदानमा उत्रिएका अधिकांश पुराना अनुहारलाई प्रतिस्थापन गर्दै नयाँ तथा युवा नेतृत्वलाई अघि सारेको दाबी गरेको छ। संगठन सुदृढीकरण र मतदातामा नयाँ ऊर्जा थप्ने उद्देश्यसहित उम्मेदवार छनोट गरिएको पार्टीको भनाइ छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादवलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाइएको छ। यादव यसअघि जसपा नेपालकै तर्फबाट पर्सा क्षेत्र नम्बर–२ ९क० बाट प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन्।
त्यस्तै, पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट उद्योगी तथा व्यवसायी नेता अशोक टेमानीलाई उम्मेदवार घोषणा गरिएको छ। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका वर्तमान अध्यक्षसमेत रहेका टेमानी पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर–४ बाट शिक्षाविद् तथा नीति आयोगका पूर्व सदस्य डा। कृपासिन्धु चौधरीले टिकट पाएका छन्। उनी हालै नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका थिए।
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ को उम्मेदवार भने भोलि मात्र टुङ्गो लगाइने जसपा नेपाल पर्साका अध्यक्ष राम नरेश यादवले जानकारी दिएका छन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पर्साबाट एक सिट मात्र जितेको जसपा नेपाल यसपटक नयाँ नेतृत्व, संगठन विस्तार र मतदातासँग प्रत्यक्ष सम्पर्क अभियानमार्फत नतिजा सुधार्ने लक्ष्यसहित निर्वाचनमा होमिएको छ।