२८ चैत, काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनाव र युद्धको बादललाई हटाउन इरान र अमेरिकाबीच आज पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुँदैछ । दशकौँदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई मुलुकका प्रतिनिधिमण्डल ऐतिहासिक शिखर वार्ताका लागि पाकिस्तान आइपुगेका छन् ।
इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरेका छन्। इस्लामावाद ओर्लिएपछि सभामुख गालिबाफले अमेरिकाप्रति सद्भाव देखाए पनि आफूहरूमा विश्वासको भने कमी रहेको स्पष्ट पारेका छन् । रोचक त के छ भने, इरानी टोली ‘मिनाब १६८’ नामक विशेष विमानबाट पाकिस्तान पुगेको छ । यो नाम गत फेब्रुअरी २८ मा इरानको मिनाबस्थित एक कन्या विद्यालयमा भएको मिसाइल आक्रमणको स्मृतिमा राखिएको हो, जसमा १६८ जना निर्दोष बालबालिकाको ज्यान गएको थियो। इरानले सो नरसंहारको दोष अमेरिकी सेनामाथि लगाउँदै आएको छ ।
सभामुख गालिबाफले विमानका सिटहरूमा मारिएका बालबालिकाका तस्बिर र स्कुले झोलाहरू राखिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै ती मृतक बालबालिका आफ्ना ‘सहयात्री’ रहेको भावनात्मक सन्देश दिएका छन् ।
अर्कोतर्फ, अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् । उनीसँगै विशेष दूत स्टिभ विट्कफ र डोनाल्ड ट्रम्पका सल्लाहकार जारेड कुश्नर पनि वार्तामा सहभागी छन्। प्रस्थानअघि उपराष्ट्रपति भान्सले इरानी पक्ष इमानदारीका साथ आए आफूहरू हात मिलाउन तयार रहेको तर झुक्याउन खोजे चुप नबस्ने चेतावनी दिएका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि शुभकामना दिँदै इरानसँगको सम्झौताका लागि ‘परमाणु हतियार विहीनता’ आफ्नो मुख्य सर्त रहेको पुनः दोहोर्याएका छन् ।
मध्यस्थकर्ताको भूमिका खेलिरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो शिखर वार्तालाई युद्ध अन्त्यका लागि निर्णायक क्षणको संज्ञा दिएका छन् । उनले यस ऐतिहासिक संवादको आयोजना गर्न पाउनु पाकिस्तान र सम्पूर्ण मुस्लिम विश्वका लागि गौरवको विषय भएको बताए ।
यसैबीच, पश्चिम एसियाकै अर्को द्वन्द्व लेबनान र इजरायलबीचको समस्या समाधानका लागि आगामी मङ्गलबार वासिङ्टन डीसीमा वार्ता हुने तय भएको छ। यद्यपि, इजरायली राजदूत माइकल लेइटरले इजरायलले लेबनानी प्रतिनिधिहरूसँग वार्ता गर्ने तर हिजबुल्लाहसँग कुनै पनि हालतमा युद्धविरामको छलफल नगर्ने अडान राखेका छन् । इस्लामावादमा हुने आजको वार्ताले विश्व राजनीति र पश्चिम एसियाको स्थिरतामा कस्तो प्रभाव पार्छ भन्नेमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ।