वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित श्री भुनेश्वरनाथ महादेव मन्दिरको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। उपभोक्ता समितिका सदस्य इशान महत्तोका अनुसार हालसम्म मन्दिर निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम असार १० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
उनका अनुसार मन्दिर निर्माणका लागि अन्दाजी करिब रु २४ लाख ७६ हजार ४४८ रुपैयाँ २ पैसा लागत अनुमान गरिएको छ। उक्त रकममध्ये रु १ लाख ३६ हजार ४४८ रुपैयाँ २ पैसा बराबरको जनश्रमदान रहेको जनाइएको छ।
मन्दिर निर्माण कार्यका लागि २०८३/ ०१/ ४ गते सम्झौता गरिएको थियो भने २०८३ /०३/ १० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कार्यमा स्थानीय बासिन्दा तथा उपभोक्ता समितिका पदाधिकारीहरू दिनरात खटिरहेको सदस्य महत्तोले बताए।
उक्त मन्दिर निर्माणका लागि मधेस प्रदेश सरकारअन्तर्गत धार्मिक तथा पर्यटन क्षेत्रबाट प्रदेशसभा सदस्य लालबाबु राउत गद्दी को पहलमा बजेट उपलब्ध गराइएको उपभोक्ता समितिले जनाएको छ।
मन्दिर निर्माणका लागि दिपु महत्तो धानुकको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ। समितिको सचिवमा सरोज कानु, कोषाध्यक्षमा जोशी मण्डल धानुक रहेका छन् भने सदस्यहरूमा किसान महत्तो, अर्जुन महत्तो धानुक, माधव शाह कानु, प्रसन्न महत्तो र विकास शाह रहेका छन्। यस्तै सल्लाहकारमा जङ्गी महत्तो धानु, बृजकिशोर महत्तो तथा मन्दिरका बाबा कृष्णगिरी रहेका छन्।
निर्माण कार्यमा मिस्त्री ध्रुव महत्तोको नेतृत्वमा करिब एक दर्जन मजदुर खटिएको सदस्य किसान महत्तोले जानकारी दिए। स्थानीयवासीको सक्रिय सहभागितासँगै मन्दिर निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य रहेको समितिले जनाएको छ।