वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद हरि (बुद्धिबहादुर) पन्तले आगामी आर्थिक वर्षको बजेटमा वीरगञ्जस्थित नारायणी रंगशाला र नारायणी अस्पताललाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद पन्तले मुलुककै झन्डै आधा राजस्वको भार वहन गर्ने मधेश प्रदेशको प्रमुख व्यापारिक शहर वीरगञ्ज अघिल्ला सरकारहरूबाट सधैं उपेक्षामा परेको बताए ।
वीरगञ्जले राज्यलाई निरन्तर राजस्व र कर तिर्दै आएको स्मरण गराउँदै उनले विकास निर्माणका योजनामा भने शहरलाई पछाडि पारिएको गुनासो गरे ।
उनले भने, “सभामुख महोदय, यसपालीको बजेटमा दशरथ रंगशालापछिकै ठूलो वीरगञ्जको नारायणी रंगशाला र वीर अस्पतालभन्दा केही वर्ष मात्रै कान्छो नारायणी अस्पताललाई प्राथमिकता दिइयोस् ।”
सांसद पन्तले वीरगञ्जस्थित सानोपाइला सहकारीका बचतकर्ताको रकम फिर्ता प्रक्रिया तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे ।
त्यसैगरी, गण्डकदेखि वीरगञ्ज भन्सारसम्मको करिब ५ किलोमिटर सडक खण्ड विस्तारका क्रममा डोजर लगाएर घर भत्काइएपछि उत्पन्न समस्याप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
उनले छोटो सूचना र स्पष्ट योजना बिना गरिएको संरचना हटाउने कार्यका कारण मुख्य बजार क्षेत्रका करिब १ हजार २०० घरधुरी प्रभावित भएको तथा सयौं परिवार घरबारविहीन बनेको बताए ।
वीरगञ्जको अवस्थालाई बागमती किनारको अव्यवस्थित बस्तीको दृष्टिकोणबाट हेर्न नहुने उल्लेख गर्दै सांसद पन्तले प्रभावित नागरिकहरूको समस्या समाधानमा तत्काल पहल गर्न सरकारसँग आग्रह गरे ।