वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१४ स्थित सनसाइन बोर्डिङ स्कुलमा विद्यार्थी नेतृत्व चयनका लागि मंगलबारदेखि विद्यालयस्तरीय निर्वाचन सुरु भएको छ। विद्यालयमा हेड गर्ल, हेड ब्वाय, खेलकुद क्याप्टेन तथा चारवटा हाउसका हाउस क्याप्टेन चयन गर्न निर्वाचन प्रक्रिया सञ्चालन गरिएको हो।
विद्यालयको प्राङ्गणमा आयोजित निर्वाचनमा पीजीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक तथा शान्तिपूर्ण रूपमा सहभागी भई आफूले रोजेको उम्मेदवारलाई मत दिएका छन्। विद्यालयका सहायक प्रिन्सिपल एवं निर्वाचन अधिकृत दीपक प्रसाद कुशवाहाका अनुसार विद्यार्थीहरूले लोकतान्त्रिक अभ्यासमार्फत आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
विद्यालयकी प्रिन्सिपल कुमारी निधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीबोध विकास गर्ने उद्देश्यले निर्वाचन प्रणाली अपनाइएको बताइन्। उनका अनुसार विद्यार्थीहरूले आफ्नै प्रतिनिधि छनोट गर्दा विद्यालयको अनुशासन, कक्षाकोठाको जिम्मेवारी तथा खेलकुद गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग पुग्नेछ।
नयाँ शैक्षिक सत्र २०८३ बाट लागू गरिएको यस निर्वाचनमा विभिन्न पदका लागि विद्यार्थी उम्मेदवारहरू आ–आफ्नो चुनाव चिन्हसहित प्रचारप्रसारमा सक्रिय देखिएका छन्।
स्कुल क्याप्टेन पदका उम्मेदवारहरूमा साक्षी पटेल र रणजीत ठाकुर रहेका छन् भने ई।सी।ए। क्याप्टेन पदका लागि प्रियंश राउत, सत्योहन पटेल, खुशी पटेल र रागिनी पटेल प्रतिस्पर्धामा छन्।
त्यसैगरी रेड हाउस क्याप्टेनका लागि अंकित पटेल र सन्ध्या प्रजापति, ब्लु हाउस क्याप्टेनका लागि पिंकी पटेल र आलोक पटेल, ग्रीन हाउस क्याप्टेनका लागि आकृति पटेल र रागिनी पटेल तथा येलो हाउस क्याप्टेनका लागि राज पटेल र रवि पटेल उम्मेदवार बनेका छन्।
उम्मेदवारहरूले आफ्नो चुनाव चिन्हमार्फत विद्यार्थीहरूसमक्ष विद्यालयको हित, अनुशासन सुधार तथा अतिरिक्त क्रियाकलापलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचनबाट हेड गर्ल, हेड ब्वाय, खेलकुद क्याप्टेन तथा निलो, रातो, पहेँलो र हरियो हाउसबाट एक–एक जना हाउस क्याप्टेन निर्वाचित हुनेछन्।
विद्यालयका सञ्चालक अमित आलोकका अनुसार निर्वाचनबाट विजयी भएका विद्यार्थी प्रतिनिधिहरूलाई विशेष समारोहबीच पद तथा गोपनीयताको सपथ ग्रहण गराइनेछ।