बिनोद परियार
फुटबल विश्वकै सबैभन्दा लोकप्रिय र सबैले सहज रूपमा बुझ्ने खेल हो। यो केवल खेल मात्र नभई विश्वभरका मानिसलाई एकआपसमा जोड्ने शक्तिशाली माध्यम पनि हो। फुटबल विश्वकपले विभिन्न देश, संस्कृति र भाषाका मानिसहरूलाई एउटै उत्सवमा जोडेर एकताको सन्देश दिने गर्छ।
आधुनिक फुटबलको सुरुवात १९औँ शताब्दीमा बेलायतको ईङ्ग्ल्याण्डबाट भएको मानिन्छ। सन् १८६३ मा “द फुटबल एसोसिएसन” (The Football Association) को स्थापना भएपछि फुटबलले औपचारिक रूप लिएको हो। त्यसपछि यो खेल क्रमशः विश्वभर फैलिँदै लोकप्रिय बन्दै गएको हो।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा (FIFA) हो, जसको स्थापना सन् १९०४ मे २१ मा भएको थियो। हाल फिफामा विश्वका २११ राष्ट्र सदस्य रहेका छन्। नेपालले सन् १९७० मा फिफाको पूर्ण सदस्यता प्राप्त गरेको हो। नेपालमा फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (ANFA) रहेको छ, जसले देशभित्र फुटबलको विकास र सञ्चालनको काम गर्दै आएको छ।
फिफा विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेमा आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा १३ राष्ट्रहरूको सहभागिता रहेको थियो। त्यसपछि विश्वकपको लोकप्रियता निरन्तर बढ्दै गयो र आज यो विश्वकै सबैभन्दा ठूलो खेल प्रतियोगिताको रूपमा स्थापित छ। सन् २०२६ मा आयोजना हुने विश्वकपमा ४८ राष्ट्र सहभागी हुनेछन्, जुन इतिहासकै सबैभन्दा ठूलो संस्करण हुनेछ।
हालसम्म भएका फिफा विश्वकप फुटबल प्रतियोगिताका आयोजक राष्ट्र, विजेता र उपविजेता
| वर्ष |
आयोजक राष्ट्र |
विजेता |
उपविजेता |
| १९३० |
उरुग्वे |
उरुग्वे |
अर्जेन्टिना |
| १९३४ |
इटाली |
इटाली |
चेकोस्लोभाकिया |
| १९३८ |
फ्रान्स |
इटाली |
हंगेरी |
| १९५० |
ब्राजिल |
उरुग्वे |
ब्राजिल |
| १९५४ |
स्विट्जरल्याण्ड |
पश्चिम जर्मनी |
हंगेरी |
| १९५८ |
स्वीडेन |
ब्राजिल |
स्वीडेन |
| १९६२ |
चिली |
ब्राजिल |
चेकोस्लोभाकिया |
| १९६६ |
इङ्ग्ल्यान्ड |
इङ्ग्ल्यान्ड |
पश्चिम जर्मनी |
| १९७० |
मेक्सिको |
ब्राजिल |
इटाली |
| १९७४ |
पश्चिम जर्मनी |
पश्चिम जर्मनी |
नेदरल्याण्ड्स |
| १९७८ |
अर्जेन्टिना |
अर्जेन्टिना |
नेदरल्याण्ड्स |
| १९८२ |
स्पेन |
इटाली |
पश्चिम जर्मनी |
| १९८६ |
मेक्सिको |
अर्जेन्टिना |
पश्चिम जर्मनी |
| १९९० |
इटाली |
पश्चिम जर्मनी |
अर्जेन्टिना |
| १९९४ |
संयुक्त राज्य अमेरिका |
ब्राजिल |
इटाली |
| १९९८ |
फ्रान्स |
फ्रान्स |
ब्राजिल |
| २००२ |
दक्षिण कोरिया / जापान |
ब्राजिल |
जर्मनी |
| २००६ |
जर्मनी |
इटाली |
फ्रान्स |
| २०१० |
दक्षिण अफ्रिका |
स्पेन |
नेदरल्याण्ड्स |
| २०१४ |
ब्राजिल |
जर्मनी |
अर्जेन्टिना |
| २०१८ |
रुस |
फ्रान्स |
क्रोएसिया |
| २०२२ |
कतार |
अर्जेन्टिना |
फ्रान्स |
इतिहासमा केही कठिन समयका कारण विश्वकप प्रभावित पनि भएको थियो। दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा फिफा विश्वकप आयोजना हुन सकेन। युद्धपछि पुनः सुरु भएपछि विश्वकपले अझ ठूलो लोकप्रियता हासिल गर्यो।
हालसम्म ब्राजिलले सबैभन्दा धेरै ५ पटक विश्वकप जितेको छ। त्यसैगरी इटाली र जर्मनीले ४–४ पटक, अर्जेन्टिनाले ३ पटक, उरुग्वे र फ्रान्सले २–२ पटक तथा इङ्ग्ल्याण्ड र स्पेनले १–१ पटक विश्वकप जितेका छन्। यी उपलब्धिहरूले फुटबलको इतिहासलाई अझ समृद्ध बनाएका छन्।
अन्ततः, फुटबल विश्वकप केवल खेल प्रतियोगिता मात्र नभई विश्वभरका मानिसबीच मित्रता, एकता र भाइचाराको भावना फैलाउने महान् उत्सव हो।
