पर्साको पोखरिया नगरपालिकास्थित प्रादेशिक अस्पतालमा रहेको एक्स–रे मेसिन र प्रयोगशाला सेवा करिब एक वर्षदेखि बन्द रहे पनि ती विभागमा कार्यरत कर्मचारीहरूले प्रति व्यक्ति ८० हजार रुपैयाँका दरले जोखिम भत्ता बुझेको तथ्य सार्वजनिक भएपछि अस्पताल प्रशासनमाथि आर्थिक अनियमितताको आरोप लागेको छ।
स्रोतका अनुसार एक्स–रे तथा ल्याबमा कार्यरत राज कुशवाहा, राजु मण्डल, दीपक चौरसिया र सेराजुल अन्सारीले जनही ८०–८० हजार रुपैयाँ जोखिम भत्ता बुझेका छन्। सेवा नै सञ्चालनमा नरहेको अवस्थामा जोखिम भत्ता वितरण गरिएको भन्दै सार्वजनिक स्रोतको दुरुपयोग भएको आरोप स्थानीयवासीले लगाएका छन्।
यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० आनन्द रौनियारले भने जोखिम भत्ता वितरण प्रचलित सरकारी कार्यविधिअनुसार गरिएको बताएका छन्। उनले सेवा प्रभावित भए पनि कर्मचारी नियमित रूपमा ड्युटीमा खटिएकाले जोखिम भत्ता दिएको दावी गरे ।
“एक्स–रे बन्द छ भन्दैमा कर्मचारीलाई तलब वा सुविधा नदिने भन्ने हुँदैन। कर्मचारीले नियमित ड्युटी गरेका छन्। नेपाल सरकारको कार्यविधिअनुसार नै जोखिम भत्ता उपलब्ध गराइएको हो,” मेसु रौनियारले भने।
तर स्थानीयवासीले मेसु रौनियारको कार्यशैलीमाथि गम्भिर प्रश्न उठाएका छन्। रौनियारले जोखिम भता बितरणमा समेत आर्थिक अपचनल गरेको श्रोतको दावी छ । स्थानियहरुले औषधि तथा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा समेत अनियमितता भएको आरोप लगाउँदै टेन्डरमार्फत हुनुपर्ने खरिद कोटेशनबाट गराइएको दाबी गरेका छन्।
अस्पतालमा उपचारका लागि आउने बिरामीले समयमै सेवा नपाउने, एक्स–रे र ल्याब सुविधा उपलब्ध नभएकाले निजी स्वास्थ्य संस्थामा जान बाध्य हुने गरेको गुनासो गरेका छन्। अस्पतालका कर्मचारी र निजी क्लिनिक तथा प्रयोगशालाबीच मिलेमतो रहेको आशंका व्यक्त गर्दै बिरामीलाई बाहिर पठाउने गरिएको आरोप लगाएका छन्।
लामो समयदेखि एक्स–रे मेसिन मर्मत नगरी सेवा अवरुद्ध राखिएको छ। केही बिरामीले मेसिन जानाजानी मर्मत नगरिएको र त्यसबाट निजी सेवा प्रदायकलाई लाभ पुगेको दाबी गरेका छन्।