२७ असार,काठमाडौं । आफैँमाथि आगो लगाएर मृत्यु भएका मुगुका गणेश नेपालीको शव सुरक्षित राख्नका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
शुक्रबार बेलुकी करिब सवा १० बजे शव त्रिवि शिक्षण अस्पताल पठाइएको वीर अस्पतालका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए। वीर अस्पतालमा लामो समयसम्म शव राख्ने सुविधा नभएकाले सुरक्षित व्यवस्थापनका लागि मात्रै शिक्षण अस्पताल पठाइएको उनले बताए।
‘वीर अस्पतालमा आईसीयूमा मृत्यु भएका बिरामीको शव बढीमा एक घन्टासम्म मात्र राख्न सकिन्छ। लामो समय राख्दा संक्रमणको जोखिम हुन्छ। हप्तौँदेखि महिनौँसम्म शव सुरक्षित राख्न मिल्ने चिस्यान गृह त्रिवि शिक्षण अस्पतालमा भएकाले त्यहाँ पठाइएको हो,’ बुढाथोकीले भने।
उनका अनुसार मृतकका परिवार र सरकारबीच वार्ता तथा सहमति भएपछि मात्रै पोस्टमार्टम प्रक्रिया अघि बढाइनेछ। शुक्रबार वीर अस्पतालमा परिवारसँग छलफल भए पनि वार्ता शनिबार बस्ने जानकारी आएपछि तत्कालका लागि शव सुरक्षित राख्न शिक्षण अस्पताल पठाइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले पनि गणेश नेपालीको शव वीर अस्पतालबाट त्रिवि शिक्षण अस्पताल पठाइएको पुष्टि गरेका छन्।
गणेशले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक लगाएपछि भएको विवादका क्रममा उनले आत्मदाह प्रयास गरेका थिए।
महानगर प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिन खोजेपछि उनले पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका नेपालीको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
सरकारले उपचारका लागि भारत लैजाने तयारी गरे पनि स्वास्थ्य अवस्था अस्थिर भएपछि चिकित्सकको सल्लाहमा वीर अस्पतालमै उपचार जारी राखिएको थियो।
घटनापछि प्रहरीले तीन जना महानगर प्रहरीलाई सोधपुछ गरी छाडेको छ। घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।