वीरगञ्जस्थित नवदीप एकेडेमीमा लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीका नवगठित २५ सदस्यहरूको स्वागत तथा परिचय कार्यक्रम सम्पन्न भएको छ। क्लबकी चार्टर अध्यक्ष लायन सुशीला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्स अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस, नेपालका डिष्ट्रिक्ट गभर्नर–इलेक्ट (डीजीई) एमजेएफ लायन राम बिहारी पाण्डेले लायन्स क्लब मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था भएको उल्लेख गर्दै सदस्यहरूलाई सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुन आग्रह गरे। उनले नयाँ सदस्यहरूको उत्साह, सक्रियता र समर्पणले क्लबलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा पदाधिकारी तथा सदस्यहरूबीच परिचय आदानप्रदानका साथै आगामी कार्ययोजना, सेवामूलक अभियान, संस्थागत विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा विपन्न समुदायको हितमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बासु तिमिल्सिना, प्रथम उपाध्यक्ष लायन उत्तम कुशवाहा, द्वितीय उपाध्यक्ष लायन रञ्जु हाडा, तृतीय उपाध्यक्ष लायन नितेश यादव, सचिव लायन नेहा अग्रवाल, कोषाध्यक्ष लायन सुष्मा मण्डल तथा सदस्यहरू लायन विशाल साह, गीता साह, रेनु सिंह, प्रिया सिंह, लक्ष्मी शर्मा, बबिता चौधरी, रञ्जिता शाही ठाकुन, दीपा अधिकारी, रिता श्रेष्ठ, पिंकी सिंह, रेखा श्रेष्ठ, पुष्पा यादव, आनन्द तिवारी, राज विक्रम शाह, शम्भु थिङ, अरविन्द कुमार चौधरी र मेघा गुप्तालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनमा चार्टर अध्यक्ष सुशीला साहले उपस्थित अतिथि तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै क्लबमार्फत समाजहितका सेवामूलक गतिविधिलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्। उनले सबै सदस्यको सक्रिय सहभागिता र सहकार्यबाट क्लबलाई उदाहरणीय सामाजिक संस्थाका रूपमा स्थापित गर्ने विश्वाससमेत व्यक्त गरिन्।