फिफा विश्वकप-२०२६ अन्तर्गत अमेरिकाको मियामी स्टेडियममा सकिएको क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले नर्वेविरुद्ध जित हासिल गरेको छ।
अतिरिक्त समयमा इंग्ल्यान्डले नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयको ९३औँ मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका हुन्।
खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलमा पहिलो गोल खेलको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियास स्केल्डरअपले गरेका थिए।
तर, त्यसको ११ मिनेटपछि नै पहिलो हाफको इन्जुरी समयमा जेड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका थिए।
यो जितसँगै इंग्ल्यान्ड चौथोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो।
सन् १९६६ मा विश्व विजेता बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा पनि सेमिफाइनलमा पुगेको थियो। सन् २०२२ मा भने इंग्ल्यान्ड क्वार्टरफाइनलमै रोकिएको थियो।
अब फाइनल प्रवेशका लागि इंग्ल्यान्डले आजै बिहान हुने अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको विजेतासँग खेल्नेछ।