वीरगञ्ज— जल तथा मौसम विज्ञान विभागले आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका मौसमविद् डेभिड ढकालका अनुसार मनसुन ट्रफ नेपालभन्दा माथिल्लो भाग र तराई क्षेत्र नजिक सक्रिय रहेकाले दिउँसोको तुलनामा रातिको समयमा वर्षाको गतिविधि थप बढ्ने सम्भावना रहेको छ। उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेशसहित ती प्रदेशका तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागले जारी गरेको चेतावनी नक्सामा कोशी प्रदेश, बागमती प्रदेशका पहाडी तथा हिमाली भूभाग, मधेश प्रदेश तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा सुन्तला (सतर्कता) संकेत जारी गरेको छ। साथै बागमतीको तराई, गण्डकीका हिमाली तथा तराई क्षेत्र, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र तथा कर्णालीका पहाडी क्षेत्रमा मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन आग्रह गरिएको छ।
यद्यपि कर्णालीको हिमाली क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रमा तत्कालका लागि विशेष चेतावनी आवश्यक नरहेको विभागले जनाएको छ।
मौसमविद्का अनुसार भोलि पनि वर्षाको गतिविधि केही बढ्ने सम्भावना रहे पनि पर्सिबाट भने क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ।
विभागका अनुसार पछिल्लो ६ घण्टामा लुम्बिनी प्रदेशका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भएको छ। मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा मापन गरिएको छ।
यस अवधिमा सबैभन्दा धेरै वर्षा बर्दियाको सानो चेपाङ वर्षा मापन केन्द्रमा ३६ मिलिमिटर रेकर्ड गरिएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ताप्लेजुङको तापेथोक केन्द्रमा ८८.२ मिलिमिटर र उदयपुरको गाईघाट केन्द्रमा ८०.४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत भएको छ।
यसैबीच, आज दिउँसो हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने पूर्वानुमान छ। साथै मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलामा आकस्मिक बहाव, बाढी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।