काठमाडौं । शनिबार साँझ कीर्तिपुरको होल्डिङ सेन्टरबाट पक्राउ परेका जेनजी अभियानका अगुवा माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रता सरकारबाट असुरक्षित रहेको बताएका छन् ।
शरीरको विभिन्न भागमा चोटपछि हाल टिचिङ अस्पतालमा उपचाररत् अन्सारीले बिहान सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्य अवस्था र पक्राउको प्रक्रियाप्रति प्रश्न उठाएका छन् ।
अन्सारीका अनुसार, उनलाई त्यसदिन साँझ करिब ५ बजे १०-१२ जनाको सङ्ख्यामा रहेका प्रहरीले नियन्त्रणमा लिएका थिए । पक्राउ गर्ने क्रममा लछारपछार गर्दै कुटपिट गरिएको र त्यसबाट आफू गम्भीर घाइते उनले बताएका छन् ।
अन्सारीले आफूलाई कुन अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी नदिइएको लेखेका छन् ।
उनको भनाइ छ, ‘मलाई अहिलेसम्म पक्राउको कारण बताइएको छैन, न त कुनै पक्राउ पुर्जी नै देखाइएको छ । मेरो पक्राउको कानूनी हैसियतका बारेमा समेत कुनै स्पष्टता छैन ।’
अन्सारीले आफूमाथिको गैरकानूनी कारबाहीको गृहमन्त्री र प्रहरी प्रमुखसमक्ष जवाफ मागेका छन् ।
आफ्नो जीवन र स्वतन्त्रता जोखिममा रहेको भन्दै अन्सारीले विभिन्न निकाय गुहारेका छन्
सांसद, प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय र मानव अधिकार रक्षकहरूलाई माजिदले सहयोगको अपिल गरेका छन् ।