महोत्तरी, असार २९ - मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको समन्वयमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका विषयमा पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम तथा यातायात मन्त्री शारदा देवी थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, केन्द्रीय सदस्य राजेश कर्ण, केन्द्रीय सदस्य सिकेन्द्र पासवान, महोत्तरी शाखा अध्यक्ष महेश दास, बारा शाखा अध्यक्ष रमेश सुवेदी तथा पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै पत्रकारिताको विश्वसनीयता कायम गर्न पत्रकार आचारसंहिताको पूर्ण पालना अपरिहार्य रहेको धारणा राख्नुभयो।
अन्तरक्रिया कार्यक्रममा पत्रकारिता क्षेत्रमा आचारसंहिताको प्रभावकारी कार्यान्वयन, देखिएका चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल भएको थियो। कार्यक्रममा अशोक तिवारी, राजेश कर्ण,केसी लामिछाने र महेश दास लगायतले आचारसंहिता कार्यान्वयनसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यपत्रमाथि सहभागी पत्रकारहरूले आफ्ना जिज्ञासा, सुझाव तथा अनुभवहरू राख्दै आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता व्यक्त गरेका थिए। 
कार्यक्रममा मधेश प्रदेशका आठ जिल्लाका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण रिंकु मिश्रले गर्नुभएको थियो। कार्यक्रमले पत्रकारिता क्षेत्रलाई थप मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिएको आयोजकले जनाएको छ।