वीरगञ्ज- नेपाल–भारत मैत्री युवा सङ्घ, पर्साको आयोजनामा वीरगञ्जस्थित नगरसभा हलमा लागूऔषधविरुद्ध जनचेतना अभियान कार्यक्रम हिजो (सोमबार)सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले लागूऔषधको बढ्दो दुव्र्यसन नियन्त्रण गर्न नेपाल र भारत दुवै देशका युवालाई सचेत बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल–भारत मैत्री युवा सङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले लागूऔषध सेवनले मानसिक तनाव सिर्जना गर्नुका साथै परिवार, समाज र राष्ट्रलाई नकारात्मक दिशातर्फ धकेल्ने भएकाले यसको नियन्त्रणका लागि विद्यालयस्तरदेखि नै जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो।
उहाँले नेपाल र भारतका सरोकारवाला निकाय तथा सामाजिक अगुवाहरू संगठित भएर लागूऔषध दुव्र्यसन न्यूनीकरण र जनचेतना अभिवृद्धिका अभियानमा सक्रिय रूपमा सहभागी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
भारतीय महावाणिज्य दूतावासका सहायक देवी मिनाले नेपाल–भारत सीमाक्षेत्रमा लागूऔषधको ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउनुपर्ने बताउँदै दुवै देशबीच जनचेतनामूलक अभियान सञ्चालनमा सहकार्य गर्न भारतीय पक्ष सधैँ तयार रहेको धारणा राख्नुभयो। लागूऔषधले व्यक्ति, परिवार र समाजलाई गम्भीर असर पुर्याउने भएकाले यसको नियन्त्रणमा दुवै देशका नागरिकको साझा प्रयास आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले युवालाई लागूऔषधको कुलतबाट जोगाउन परिवार, समाज, साथीभाइ तथा स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। आफ्नो पालिकाभित्र जनचेतनामूलक कार्यक्रममार्फत युवालाई कुलतबाट बचाउन निरन्तर पहल भइरहेको उहाँको भनाइ थियो।
कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरी, वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, पूर्वमन्त्री तथा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, नेपाल–भारत मैत्री युवा सङ्घका केन्द्रीय महासचिव कृष्ण सिंह, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामजनम चौधरीलगायतले लागूऔषध नियन्त्रणका लागि समुदाय, शैक्षिक संस्था र सुरक्षा निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
नेपाल–भारत मैत्री युवा सङ्घ पर्साका अध्यक्ष शैलेन्द्रकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी अस्पतालका फिजिसियन डा। निरज सिंहले लागूऔषधको स्वास्थ्यमा पर्ने असरबारे प्रस्तुति दिनुभएको थियो। नेपाल बार एसोसिएसनका अधिवक्ता दीपकराज भण्डारीले लागूऔषधसम्बन्धी कानुनी व्यवस्था तथा अपराधमा संलग्न हुनेलाई हुने सजायबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा सङ्घकी केन्द्रीय सदस्य नेहा मिश्राले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव अर्चना चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। ज्ञानदा एकेडेमी प्लस टु कलेज, लभध, वेभ माध्यमिक विद्यालय तथा सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धिका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।