वीरगञ्ज — वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। लगातार चौथो वर्ष आयोजना गरिएको रथयात्रामा हजारौं श्रद्धालुको सहभागिता रहेको आयोजकले जनाएको छ।
बिहान विशेष पूजा–आराधनापछि गहवामाई मन्दिरबाट सुरु भएको रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर र घडिअर्वा हुँदै पुनः माईस्थान मन्दिर पुगेर समापन हुने कार्यक्रम रहेको माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले बताए।
रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए। सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिएको तथा सम्पूर्ण रथयात्रा मार्गमा सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ। ट्राफिक व्यवस्थापन सहज बनाउन विभिन्न स्थानमा वैकल्पिक मार्गसमेत सञ्चालन गरिएको थियो।
रथयात्रामा सहभागी हुन बिहानैदेखि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका श्रद्धालु मन्दिर परिसरमा भेला भएका थिए। रथयात्रा सुरु हुनुअघि वर्षा भए पनि त्यसले भक्तजनको उत्साहमा असर पारेन। मुख्य सडक विस्तारका क्रममा केही स्थानमा संरचना हटाइएका कारण सामान्य असहजता देखिए पनि श्रद्धालु भक्तिभावका साथ रथयात्रामा सहभागी भएका थिए।
आयोजकका अनुसार बिहानको रथयात्रापछि दिउँसो १२ बजेसम्म विशेष पूजा सञ्चालन हुनेछ। त्यसपछि केही समय विश्राम गरी दिउँसो १ बजेदेखि पुनः पूजा–आराधना सुरु गरिनेछ। धार्मिक विधिअनुसार बेलुका ४ बजे मुख्य हवन, साँझ ६ बजे महाआरती तथा त्यसपछि उपस्थित श्रद्धालुलाई प्रसाद वितरण गरिने कार्यक्रम छ।
वीरगञ्जको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित गहवामाई रथयात्राले धार्मिक सद्भाव, सामाजिक एकता तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको आयोजकको विश्वास छ।