टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा आगामी जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको छ।
‘प्रवासी सञ्चार माध्यम मार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित हुन लागेको यस सम्मेलनको सहआयोजकमा नेपाल पत्रकार महासंघका १२ वटा वैदेशिक शाखाहरू रहेका छन्।
सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्य, वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानका पत्रकार र विश्वभरका नेपाली पत्रकारहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ। उच्च शिक्षा, रोजगारी र व्यवसायका सिलसिलामा विदेश पुगेका नेपाली समुदायका गतिविधि, समस्या, सफलता र सरोकारलाई मातृभूमिसम्म पुर्याउने प्रवासी पत्रकारिताको बढ्दो जिम्मेवारीलाई मध्यनजर गर्दै यो सम्मेलन आयोजना गरिएको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
नेपाल पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष मनिषा चम्लागाईँका अनुसार सम्मेलनमा प्रवास पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, महासंघको केन्द्रीय समिति र वैदेशिक शाखाबिचको सम्बन्ध, जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभाव र प्रेस स्वतन्त्रता जस्ता विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया कार्यक्रमहरू तय गरिएका छन्।
नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ले यो सम्मेलनले महासंघको केन्द्र र वैदेशिक शाखाबिचको सम्बन्धलाई औपचारिकता प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका छन्। विदेशमा असहज परिस्थितिमा रहेर पनि प्रवासी पत्रकारहरू देशप्रति उत्तिकै जिम्मेवार र गम्भीर रहँदै पत्रकारिता गरिरहेको सन्देश यस सम्मेलनले दिने मल्ल बताउँछन्।
सम्मेलनको महत्त्वबारे चर्चा गर्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले भनेका छन्, ‘प्रविधिले गर्दा प्रभाव र पहुँचका हिसाबले अब नेपालमा रहेर वा नेपाल बाहिर बसेर गरिने पत्रकारिता फरक रहेन। पत्रकारिता ग्लोबल शैलीको भइसकेको छ।’ भण्डारीका अनुसार डायस्पोरामा सक्रिय पत्रकार र उनीहरू मार्फत भइरहेको पत्रकारिता नेपाली समुदायका निम्ति अर्थपूर्ण र नेपालको हकमा पनि अपरिहार्य बन्दै गएको छ।
महासंघको जापान शाखाले विश्वभरका नेपाली पत्रकारलाई एउटै साझा मञ्चमा जोड्ने यस सम्मेलनलाई प्रवासी पत्रकारिताको इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यो सम्मेलनले नेपाली सञ्चारकर्मीबिचको सम्बन्ध सुदृढ बनाउनुका साथै संस्थागत विकास र व्यावसायिक क्षमता अभिवृद्धिमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रले पनि उल्लेखनीय साथ दिएको छ। जापानमा स्थापित अग्रणी फिनटेक कम्पनी डिजिटल वालेट कर्पोरेसन अन्तर्गत सञ्चालित स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट सम्मेलनका मुख्य कार्यक्रम साझेदार बनेका छन्। आयोजकले मुख्य कार्यक्रम साझेदारहरूका साथै इभेन्ट पार्टनर फ्रन्टअप ई-सिम तथा अन्य प्रायोजक र सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरेको छ।
सार्वजनिक र निजी क्षेत्रबिचको यस्तो सहकार्यले प्रवासी पत्रकारितालाई थप सशक्त बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।