३२ असार, काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२र८३ मा विद्युतीय सवारी साधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ ।
नेपाली बजारमा विद्युतीय सवारीको माग निरन्तर वृद्धि भएसँगै यस नाकाबाट हुने आयात र त्यसबापत सङ्कलन हुने राजश्वमा समेत उल्लेखनीय वृद्धि भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा रसुवागढी नाकाबाट करिब ६ हजार ५०० भन्दा बढी साना तथा ठूला विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।
आयात भएका सवारीमा विद्युतीय कार, जीप, भ्यान तथा मिनीबस प्रमुख रहेका छन्। चीनका विभिन्न सहरबाट केरुङ हुँदै यी सवारी नेपाल ल्याइएको हो ।
विद्युतीय सवारीको आयात बढेसँगै रसुवा भन्सार कार्यालयको राजश्व सङ्कलनमा पनि ऐतिहासिक वृद्धि भएको छ । चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको जाँचपास तथा भन्सार महसुलबापत मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कुल राजश्व सङ्कलनमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय सवारीबाट प्राप्त भएको बताइएको छ ।
भन्सार विभागको प्रारम्भिक तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा रसुवागढी नाकाबाट मात्रै करिब २५ अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको अनुमान गरिएको छ ।
सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने करका दरमा केही परिमार्जन गरे पनि चिनियाँ ब्रान्डका ईभीप्रतिको आकर्षणका कारण आयातमा कुनै उल्लेख्य कमी आएन ।
इन्धनबाट चल्ने सवारीको तुलनामा सञ्चालन खर्च कम हुने, वातावरणमैत्री हुने तथा आधुनिक प्रविधियुक्त भएकाले उपभोक्ताहरू ईभीतर्फ आकर्षित भएका हुन् ।
काठमाडौँसँग छोटो दूरीमा रहेको रसुवागढी नाका चीनबाट सवारी आयात गर्ने व्यवसायीहरूको प्रमुख प्रवेशद्वारका रूपमा स्थापित हुँदै गएको छ ।