करैयामाई गाउँपालिका बारा जिल्लाकै तेस्रो साक्षर गाउँपालिका घोषणा भएको छ। गाउँपालिकाको वडा नं. १ स्थित श्री जन सामुदायिक माध्यमिक विद्यालय, मधुबन–हरैयामा आयोजित विशेष समारोहबीच गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो।
करैयामाई गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजना, जनजागरण युवा क्लब बारा तथा सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले करैयामाईलाई औपचारिक रूपमा साक्षर गाउँपालिका घोषणा गरेका हुन्।
गाउँपालिका अध्यक्ष यादवकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साह प्रमुख अतिथिका रूपमा सहभागी थिए। अध्यक्ष यादवले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
समारोहमा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, शिक्षा तथा खेलकुद शाखाका सह–संयोजक उमेशप्रसाद यादव, उपाध्यक्ष सुनैना कुमारी चौधरी, वडा नं। १ का अध्यक्ष सोनालाल साह, वडा नं। २ का अध्यक्ष सुरेन्द्रप्रसाद चौधरी, गाउँ कार्यपालिका सदस्य सीता चौधरी, बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवाल, शिक्षा विकास तथा समन्वय इकाइ बाराका निमित्त प्रमुख अशोककुमार रौनियारलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालय, वडा अध्यक्ष, सामुदायिक विद्यालय तथा सहयोगी संघ–संस्थालाई साक्षर अभियानमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो।
त्यसैगरी गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, संघ–संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, नगर प्रहरी, नागरिक समाजका अगुवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सञ्चालन श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पिपरा बजारका प्रधानाध्यापक सन्तोष रजकले गरेका थिए।