वीरगञ्जको विद्युत आपूर्तिको प्रमुख वैकल्पिक माध्यम मानिएको छपकैया ३३ केभी अन्डरग्राउन्ड केबलमा आएको प्राविधिक खराबी (फल्ट) तीन दिन र तीन रातको निरन्तर प्रयासपछि समाधान गरिएको छ। नेपाल विद्युत प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले केबलको समस्या पहिचान गरी मर्मतसँगै नयाँ ओभरहेड लाइन सञ्चालनमा ल्याएपछि विद्युत आपूर्ति थप भरपर्दो हुने जनाएको छ।
प्राधिकरणका अनुसार केबलमा समस्या देखिनेबित्तिकै उच्च व्यवस्थापनको समन्वयमा ँबगति ीयअबतयच ःभननभच त्भकतष्लन ख्बल रातारात वीरगञ्ज ल्याई परीक्षण सुरु गरिएको थियो। प्रारम्भिक परीक्षणबाट फल्टको स्थान पत्ता लाग्न नसक्दा छपकैया सबस्टेसनअन्तर्गतका अस्पताल, विर्तामाई, नगवा, छपकैया र बलिरामपुर फिडरमध्ये बलिरामपुर, छपकैया तथा नगवा फिडरको विद्युत आपूर्ति प्रभावित भएको थियो।
विद्युत सेवा लामो समय अवरुद्ध हुन नदिन प्राधिकरणले अर्को दिनदेखि नै प्रभावित सबै क्षेत्रमा वैकल्पिक आपूर्तिको व्यवस्था मिलाएको जनाएको छ।
लगातार तीन दिनको प्राविधिक खोजीपछि नगवा पोखरी नजिक अन्डरग्राउन्ड केबलमा आएको फल्ट पहिचान गरिएको थियो। सोही क्षेत्रमा निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन सम्पन्न भइसकेकाले पुरानो लाइन नकटाई मर्मत कार्य अघि बढाउन सहज भएको प्राधिकरणले जनाएको छ।
वर्षायाम, प्रतिकूल मौसम, स्थानीयस्तरका केही अवरोध र चुनौतीका बाबजुद नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका कर्मचारी, प्राविधिक टोली तथा निर्माण व्यवसायीले दिनरात खटेर निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन दुई दिनमै सम्पन्न गरी सफलतापूर्वक चार्ज गरेका थिए।
वीरगञ्ज वितरण केन्द्रले कठिन परिस्थितिमा धैर्यपूर्वक साथ दिने स्थानीय उपभोक्ता, स्थानीय प्रशासन, सञ्चारकर्मी, निर्माण व्यवसायी तथा प्राधिकरणको उच्च व्यवस्थापनप्रति आभार व्यक्त गरेको छ।
प्राधिकरणका अनुसार नयाँ ३३ केभी ओभरहेड लाइन सञ्चालनमा आएसँगै वीरगञ्जमा विद्युत आपूर्ति प्रणाली थप सुदृढ भएको छ। यसबाट भविष्यमा उपभोक्ताले अझ भरपर्दो, गुणस्तरीय र नियमित विद्युत सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यस उपलब्धिलाई वीरगञ्जको विद्युत पूर्वाधार विकासको महत्त्वपूर्ण कोशेढुंगाका रूपमा उल्लेख गरिएको छ।