श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले श्री गहवा माई चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ू ऐतिहासिक, भव्य तथा सफल रूपमा सम्पन्न भएको जनाएको छ। समितिले महोत्सव सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वयंसेवक तथा श्रद्धालु भक्तजनप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
समितिका अध्यक्ष श्याम पोखरेल र सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता)द्वारा जारी विज्ञप्तिअनुसार प्रतिकूल मौसमका कारण असार ३२ गते पूर्वनिर्धारित हेलिकप्टर आउन नसके पनि लाखौँ भक्तजनहरूको उत्साहजनक सहभागितामा चौथो विशाल रथयात्रा, भजन सन्ध्या, साउन १ गते सम्पन्न ५६ भोग महापूजा तथा विशाल महाप्रसाद भण्डारा शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा सम्पन्न भएको हो।
विज्ञप्तिमा रथयात्रा मार्ग व्यवस्थापनमा सहयोग गर्ने सडक डिभिजन कार्यालय, शान्ति सुरक्षा तथा समन्वयमा सक्रिय जिल्ला प्रशासन कार्यालय पर्सा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा वीरगञ्ज महानगरपालिकाप्रति विशेष कृतज्ञता व्यक्त गरिएको छ।
त्यसैगरी, महोत्सवको देश–विदेशमा प्रचार–प्रसार, समाचार सम्प्रेषण तथा प्रत्यक्ष प्रसारणमार्फत कार्यक्रमलाई व्यापक रूपमा पुर्याउन योगदान गर्ने नेपाल पत्रकार महासंघ पर्सा आबद्ध पत्रकार, राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम र डिजिटल मिडियाकर्मीप्रति पनि समितिले विशेष धन्यवाद जनाएको छ।
रथयात्राका क्रममा श्रद्धालुहरूका लागि खानेपानी, सर्वत, प्राथमिक उपचारलगायत सेवामूलक कार्यमा सहयोग गर्ने सामाजिक, धार्मिक, जातीय, साहित्यिक तथा व्यावसायिक संघ–संस्था, बुद्धिजीवी, भद्रभलाद्मी, स्वयंसेवक तथा मन्दिर परिसरमा कलश, तोरण र दीप प्रज्वलनमार्फत माताको स्वागत गर्ने सम्पूर्ण वीरगञ्जवासीप्रति पनि समितिले आभार व्यक्त गरेको छ।
समितिले सबैको निःस्वार्थ सहयोग, सेवाभाव र सामाजिक ऐक्यबद्धताकै कारण महोत्सव ऐतिहासिक रूपमा सफल भएको उल्लेख गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण श्रद्धालु भक्तजनमा माता श्री गहवा माईको असीम कृपा र आशीर्वाद सधैं रहिरहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।