संघीय सांसद सुनिता कुमारी चौधरीले पर्साको पकहा मैनपुर गाउँपालिका–३ स्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
सोमबार विद्यालयको अनुगमन तथा निरीक्षणपछि उनले छात्रावास निर्माण, विद्यालयको सौन्दर्यीकरण र भौतिक पूर्वाधार सुदृढीकरणका लागि आवश्यक बजेट आगामी आर्थिक वर्षमा विनियोजन गराउन पहल गर्ने बताइन्। विद्यालयको शैक्षिक गुणस्तर सुधार र समग्र विकासका लागि सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक सहयोग जुटाउने विश्वाससमेत उनले व्यक्त गरिन्।
सांसद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता अकलेश साहको पहलमा विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाबारे प्रत्यक्ष जानकारी लिन आएको बताउँदै विद्यालयको विकासमा आफू सकारात्मक रहेको धारणा राखिन्।
अनुगमनका क्रममा प्रधानाध्यापक मनोजकुमार यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश साहनीले सांसद चौधरीलाई खादा ओढाएर सम्मान गरेका थिए।
शिक्षक उपेन्द्र पण्डित र अभय ओझाले विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, चुनौती र आवश्यकताबारे जानकारी गराउँदै विकासका लागि सरकारी सहयोग आवश्यक रहेको बताए।
अनुगमन कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो। विद्यालय परिवारले विद्यालयको विकासप्रति चासो देखाएको भन्दै सांसद चौधरी र रास्वपा युवा नेता अकलेश साहप्रति आभार व्यक्त गरेको छ।