भारतमा विभिन्न प्रवेश तथा सरकारी सेवाका परीक्षामा प्रश्नपत्र चुहावट भएको घटनाविरुद्ध सुरु भएको युवा आन्दोलन थप चर्किएको छ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै हजारौँ प्रदर्शनकारी सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँदिल्लीमा भेला भएका छन्।
प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएपछि राजधानीको जन्तरमन्तर क्षेत्र तथा संसद् आसपास ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनकारीहरू अघि बढ्ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले लाउडस्पीकरमार्फत उनीहरूलाई तितरबितर हुन आग्रह गरेको छ।
प्रदर्शनमा विद्यार्थी, विभिन्न पेशाका व्यक्तित्व तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ। सहभागीहरूले भारतीय राष्ट्रिय झण्डा बोकेर शिक्षामन्त्री धर्मेन्द्र प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका छन्।
‘कक्रोच जनता पार्टी’ नामबाट परिचित आन्दोलन मे महिनामा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले एक फरक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’ (साङ्ला)सँग तुलना गरेपछि सुरु भएको हो। प्रदर्शनकारीहरूले उक्त अभिव्यक्तिलाई व्यङ्ग्यात्मक रूपमा आत्मसात गर्दै सामाजिक सञ्जालमार्फत आन्दोलनलाई विस्तार गरेका हुन्।
मेडिकल कलेज तथा सरकारी सेवाका प्रवेश परीक्षाका प्रश्नपत्र पटक–पटक चुहिएको घटनाले विद्यार्थी र अभिभावकमाझ असन्तुष्टि बढाएको छ। शनिबार अनशनरत अभियन्ता सोनम वाङचुकलाई प्रहरीले अस्पताल लगेको घटनापछि आन्दोलनले थप समर्थन पाएको बताइएको छ।
प्रदर्शनकारीहरू विगत एक महिनादेखि जन्तरमन्तरमा धर्ना दिँदै आएका छन्। उनीहरूले शिक्षामन्त्रीको राजीनामा, परीक्षा प्रणालीमा व्यापक सुधार तथा प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
वाङचुकले सरकारले शिक्षा प्रणाली सुधारका लागि ठोस प्रतिबद्धता जनाए वा प्रदर्शनकारीलाई संसद्सम्म पुग्न दिएर उनीहरूको माग संसद्मा उठ्ने सुनिश्चित गरेमा मात्र आफ्नो करिब तीन सातादेखिको अनशन अन्त्य गर्ने बताएका छन्।
दिल्ली प्रहरीले भने संसद्को मनसुन अधिवेशन जारी रहेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मार्चको अनुमति नदिएको जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका लागि यो आन्दोलन पछिल्ला वर्षहरूमा देखिएको उल्लेखनीय सार्वजनिक चुनौतीका रूपमा हेरिएको छ। विपक्षी दल, नागरिक अधिकारकर्मी तथा केही बलिउड कलाकारहरूले पनि आन्दोलनप्रति समर्थन जनाएका छन्।
यद्यपि सरकारका वरिष्ठ मन्त्रीहरूले आन्दोलनप्रति कडा धारणा व्यक्त गरेका छन्। शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रदर्शनकारीमाथि राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् भने अन्य मन्त्रीहरूले विद्यार्थीहरूको चिन्ता जायज भए पनि आन्दोलनसँग वार्ताको आवश्यकता नरहेको बताएका छन्।
प्रदर्शनमा सहभागी योग प्रशिक्षक ज्योति राजपुतले शिक्षा प्रणालीमा सुधारको माग गर्दै सरकार विद्यार्थीहरूको समस्याप्रति पर्याप्त संवेदनशील नभएको आरोप लगाएका छन्।