वीरगञ्ज । पर्साको ऐतिहासिक तथा राष्ट्रिय महत्व बोकेको वीरगञ्ज चिनी मिल तत्काल पुनः सञ्चालन गर्न माग गर्दै नागरिकस्तरबाट सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइएको छ।
‘वीरगञ्ज चिनी मिल पुनः सञ्चालन नागरिक अभियान’का संयोजक अफजल हुसैनले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै निर्धारित समयभित्र ठोस पहल नभए शान्तिपूर्ण आमरण अनशन सुरु गर्ने चेतावनी दिएका हुन्।
ज्ञापनपत्रमा वर्षौंदेखि बन्द रहेको चिनी मिलका कारण स्थानीय किसान, मजदुर, व्यवसायी तथा समग्र क्षेत्रीय अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख गरिएको छ। मिल बन्द भएपछि हजारौं परिवार रोजगारीबाट वञ्चित भएको र कृषि तथा औद्योगिक गतिविधिसमेत प्रभावित भएको अभियानको दाबी छ।
अभियानले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि हालसम्म कुनै ठोस निर्णय वा कार्यान्वयन नभएको उल्लेख गर्दै मिल पुनः सञ्चालनका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
अभियानले पाँच बुँदे माग पनि अघि सारेको छ। जसमा चिनी मिल सञ्चालनसम्बन्धी स्पष्ट निर्णय र कार्ययोजना सार्वजनिक गर्ने, आवश्यक बजेट, कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल अघि बढाउने, संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी निश्चित समयसीमाभित्र कार्यान्वयन प्रक्रिया सुरु गर्ने, मिलको वर्तमान अवस्था तथा सञ्चालन सम्भाव्यताबारे आधिकारिक विवरण सार्वजनिक गर्ने तथा किसान, मजदुर र सरोकारवालासँग समन्वय गरी दीर्घकालीन समाधान लागू गर्ने माग समावेश छन्।
अभियानले आफ्नो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक हुने जनाएको छ। ज्ञापनपत्र बुझाएको ७२ घण्टाभित्र सम्बन्धित निकायबाट ठोस पहल, लिखित प्रतिबद्धता वा कार्यान्वयन प्रक्रिया सुरु नभए शान्तिपूर्ण आमरण अनशनमा बस्ने चेतावनीसमेत दिइएको छ।
अभियानका अनुसार यो आन्दोलन कुनै व्यक्ति, संस्था वा राजनीतिक दलविरुद्ध नभई वीरगञ्ज चिनी मिलको पुनः सञ्चालन, स्थानीय उद्योगको पुनर्जीवन, किसानको हित संरक्षण, रोजगारी सिर्जना तथा जनहितका लागि गरिएको नागरिक अभियान हो।