वीरगञ्ज । सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोक्ने निर्णय गरेपछि त्यसको विरोधमा युवा तथा विद्यार्थीहरू सडकमा उत्रिएका छन्। उनीहरूले निर्णय तत्काल फिर्ता लिन र लोकसेवा आयोगको पूर्वनिर्धारित कार्यतालिकाअनुसार पदपूर्ति प्रक्रिया अघि बढाउन माग गरेका छन्।
काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारले स्थायी नियुक्ति प्रक्रिया रोक्ने गरी गरेको निर्णयले लोकसेवा तयारी गरिरहेका हजारौं युवाको भविष्य अन्योलमा परेको भन्दै विरोध जनाएका हुन्।
दुई दिनअघि सम्पन्न सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिबिना लोकसेवा आयोगमार्फत कुनै पनि पदपूर्ति प्रक्रिया अघि नबढाउने निर्णय गरेको थियो। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनकारीहरूले लोकसेवा आयोगको निर्धारित कार्यतालिकाअनुसार विज्ञापन खोल्न र परीक्षा सञ्चालन गर्न माग गरेका छन्।
प्रदर्शनमा सहभागी युवाहरूले वर्षौंसम्म लोकसेवाको तयारी गरिरहेका उम्मेदवारको अवसर प्रभावित हुने भन्दै सरकारको निर्णय सच्याउन आग्रह गरेका छन्। उनीहरूले करार प्रणालीलाई बढावा दिने गरी स्थायी नियुक्ति रोक्ने निर्णय स्वीकार्य नहुने बताएका छन्।
विरोध प्रदर्शनका क्रममा सहभागीहरूले ‘स्वतन्त्र संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर’, ‘देशमै बस्न–बाँच्ने वातावरण सिर्जना गर’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणपछि फाजिलमा पर्ने कर्मचारीको व्यवस्थापन नभएसम्म स्थायी पदपूर्ति रोक्ने तथा प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति अनिवार्य गर्ने निर्णयले योग्य र प्रतिस्पर्धी युवामाथि अन्याय हुने दाबी गरेका छन्।
उनीहरूले राजनीतिक पहुँच र भनसुनका आधारमा नभई कानुन, पारदर्शिता र योग्यता प्रणालीका आधारमा रिक्त दरबन्दी समयमै खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न सरकारसँग माग गरेका छन्।
साथै, लोकसेवा आयोगको संवैधानिक स्वतन्त्रतामा हस्तक्षेप नगर्न र स्थायी कर्मचारी नियुक्ति प्रक्रिया तत्काल सुचारु गर्न सरकारलाई आग्रह गरेका छन्।