वीरगञ्ज— पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ। स्थानीय सुधिर सिलवालकी ३७ वर्षीया पत्नी लक्ष्मी सिलवालको शव आफ्नै गोठमा झुण्डिएको अवस्थामा भेटिएको हो।
दुई सन्तानकी आमा लक्ष्मीले आत्महत्या नगरी उनको हत्या गरिएको माइती पक्षले आरोप लगाएको छ। मृतकका परिवारका सदस्यहरूले घटनाबारे फरक–फरक भनाइ दिएको भन्दै घटनालाई थप शंकास्पद बनाएको माइती पक्षको दाबी छ।
मृतककी सासुले बिहान गोठको माथिल्लो तलामा झुण्डिएको अवस्थामा शव देखेपछि आफूहरूले डोरी काटेर तल झारेको बताएकी छन्। तर मृतकका चार वर्षीय छोराले भने आफ्ना बाबुले आमालाई लछारपछार गर्दै कुटपिट गरेको बताएका छन्।
घटनास्थलमा मृतकले लगाएका चुरा तीन फरक स्थानमा फुटेर छरिएको अवस्थामा भेटिएको छ। त्यस्तै, झुण्डिन प्रयोग गरिएको भनिएको नाइलनको डोरी बाँधिएको गोठको काठ मृतकको तौल धान्न नसक्ने कमजोर रहेको र झुण्डिएको भनिएको स्थानबाट खुट्टाले सजिलै भुइँ टेक्न सकिने अवस्था भएकाले घटना शंकास्पद देखिएको स्थानीयवासीको भनाइ छ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले भने मृतकको शरीरमा कुनै निलडाम नदेखिएकाले प्रारम्भिक रूपमा घटना शंकास्पद नदेखिएको बताएका छन्।
यता, मृतकका बुबा तथा ठोरी गाउँपालिका–३ निवासी लक्ष्मी शिवाकोटीले घटनाको प्रकृति, परिवारका सदस्यहरूको विवादास्पद भनाइ र घटनास्थलको अवस्थालाई आधार मान्दा आत्महत्या नभई हत्या भएको निष्कर्षमा आफूहरू पुगेको बताए। उनले दोषी जोसुकै भए पनि उम्कन नपाउने गरी निष्पक्ष र गहिरो अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यसैविच प्रहरीले मृतकको शव घटना मुचुल्का नगरि मृतकका पतिलाइ भगाउन थाले पछि स्थानीयले प्रहरीको गाडी घेर्दै नाराबाजी गरेका छन् । प्रहरीले सत्य तथ्य छानविन गर्नु भन्दा एक तर्फी निर्णय गरेको उनीहरूले आरोप लगाएकाछन् ।