वीरगञ्ज— लेनदेन पीडित संघर्ष समिति, पर्साले प्रतिनिधि सभा सदस्य सुशीलकुमार कानुसँग भेट गरी लेनदेनसम्बन्धी विवादमा निर्दोष लगानीकर्तालाई अन्याय नहोस् भन्ने माग राखेको छ।
समितिका अध्यक्ष सुनिल पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वीरगञ्जस्थित सांसद कानुको निवासमा पुगेर आफ्नो ज्ञापनपत्र बुझाएको हो। भेटका क्रममा समितिले कानुनबमोजिम गरिएको लगानीसमेत मिटरब्याजसँग जोडेर हेरिँदा इमानदार लगानीकर्ता समस्यामा परेको धारणा राखेको थियो।
समितिका अनुसार केही व्यक्तिले गरेको गैरकानुनी गतिविधिका कारण सबै लगानीकर्तालाई एउटै दृष्टिकोणबाट मूल्याङ्कन गरिनु उचित होइन। यस्ता घटनाले निर्दोष व्यक्तिको सामाजिक प्रतिष्ठा, आर्थिक गतिविधि तथा व्यवसायिक वातावरणमा समेत नकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ।
प्रतिनिधिमण्डलले लेनदेनसम्बन्धी विवादमा दुवै पक्षको तथ्य र प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान हुनुपर्ने, वास्तविक दोषीमाथि मात्रै कानुनी कारबाही गरिनुपर्ने तथा कानुनी प्रक्रियाअनुसार कारोबार गरेका व्यक्तिलाई अनावश्यक दुःख नदिनुपर्ने माग अघि सारेको छ।
ज्ञापनपत्र बुझ्दै सांसद सुशीलकुमार कानुले समितिले उठाएका विषयलाई गम्भीर रूपमा लिएको बताउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। उनले कानुनको दायराभन्दा बाहिर गएर आर्थिक शोषण गर्ने व्यक्तिलाई कारबाही हुनुपर्ने भए पनि सबै लगानीकर्तालाई एउटै रूपमा चित्रण गर्नु न्यायोचित नहुने धारणा व्यक्त गरे।
सांसद कानुले समस्या समाधानका लागि आवश्यक पहल गर्ने र आवश्यक परे संसद्मा समेत यो विषय उठाउने आश्वासन दिएका छन्। समितिले पनि निर्दोष लगानीकर्ताको हकहित संरक्षण हुने गरी कानुनी र नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गरेको छ।