भारतको राजधानी पटनास्थित ताज होटलमा लायन्स डिस्ट्रिक्ट 322 ई को नयाँ कार्यकाल (2026–27) को स्थापना समारोह "आरोहण" भव्य रूपमा सम्पन्न भएको छ।
समारोहको अध्यक्षता लायन्स वर्ष 2026–27 की डिस्ट्रिक्ट गभर्नर लायन संगीता नन्दाले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा केन्याबाट आएका लायन्स क्लब इन्टरनेशनल (2026–27) का प्रथम अन्तर्राष्ट्रिय उपाध्यक्ष लायन डा. मनोज शाह तथा उनकी पत्नी लायन जेना शाहको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन बी.के. लुथरा, बिहार सरकारका उपमुख्यमन्त्री विजय कुमार चौधरी, डा. झा, विमल जैनलगायत पूर्व तथा वर्तमान गभर्नरहरू, समाजसेवी तथा लायन्स पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यस अवसरमा लायन्स क्लब अफ रक्सौल का वरिष्ठ सदस्य लायन बिमल सर्राफ र लायन साइमन रेक्सलाई एलसीआईएफ (LCIF) मा उत्कृष्ट योगदान पुर्याएको भन्दै एप्रिसिएसन अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। उक्त सम्मानले रक्सौल लायन्स क्लबका सदस्यहरूमा खुसी र गौरवको वातावरण सिर्जना गरेको जनाइएको छ।
समारोहमा प्रथम अन्तर्राष्ट्रिय उपाध्यक्ष लायन डा. मनोज शाहले डिस्ट्रिक्टका प्रथम उपगभर्नर लायन अविनाश चौधरी, द्वितीय उपगभर्नर लायन गीता शर्मा तथा अन्य सबै पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण समारोहले संगठनको सेवा, समर्पण र नेतृत्वप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।
आफ्नो सम्बोधनमा प्रमुख अतिथि डा. मनोज शाहले लायन्स क्लबको मूल भावना मानव सेवा भएको उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन संगठनले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
समारोहमा लायन्स क्लब अफ रक्सौलका पूर्व अध्यक्ष लायन बिमल सर्राफ, लायन नारायण रुंगटा तथा पूर्व कोषाध्यक्ष लायन अमित कुमारको पनि सक्रिय सहभागिता रहेको थियो। त्यसैगरी रक्सौल क्लबका पूर्व अध्यक्ष लायन साइमन रेक्स तथा पूर्व सचिव लायन मोहम्मद निजामुद्दीनले डिस्ट्रिक्ट क्याबिनेटमा स्थान पाएका छन्।
कार्यक्रमको सफल आयोजना तथा गरिमामय व्यवस्थापनका लागि सहभागी अतिथि, पदाधिकारी तथा सदस्यहरूले आयोजक समितिको प्रशंसा गरेका थिए। समारोहले लायन्स डिस्ट्रिक्ट 322 ई को नयाँ कार्यकालका लागि सेवा, नेतृत्व र संगठनात्मक सुदृढीकरणको सशक्त सन्देश दिएको आयोजकले जनाएको छ।