वीरगञ्ज, साउन १० — पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। साथै, घटनाका क्रममा उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआउञ्जेलसम्मका लागि जिम्मेवारीबाट हटाइएको छ।
वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारका क्रममा मृत्यु भएपछि चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त तथा स्थानीयवासीले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा अस्पतालको आकस्मिक कक्षमा होहल्ला तथा तोडफोडसमेत भएपछि अवस्था तनावग्रस्त बनेको थियो।
स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासन, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, पीडित परिवार तथा स्थानीय जनप्रतिनिधिबीच भएको सहमतिअनुसार छानबिन समिति गठन गरिएको हो।
समितिमा नारायणी अस्पतालका डा. निरज कुमार सिंह, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार राम, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक, वीरगञ्ज–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल तथा अस्पताल प्रशासनका सुनिल कुमार रोनियार सदस्य रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लका अनुसार समितिलाई साउन ९ गते भएको घटनाको सत्यतथ्य अध्ययन तथा विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाइने जनाइएको छ।
घटनामा संलग्न आकस्मिक कक्षका डा. प्रमोद राम, डा. राम किशोर सिंह, प्रहलाद प्रसाद, नरेश कुमार चौधरी र आस्था यादवलाई तत्कालका लागि कामकाजबाट रोक लगाइएको अस्पताल प्रशासनले जनाएको छ।
मृतकका आफन्तले अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएकाले गम्भीर लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। यद्यपि, उक्त आरोपबारे छानबिन समितिले अनुसन्धान गर्नेछ।
विरोध प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्जसमेत गरेको थियो। प्रशासनसँगको सहमतिपछि मृतक पक्षले शव बुझेर पोस्टमार्टम गराउने तथा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने सहमति जनाएको छ।
अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गर्दै नारायणी अस्पतालबाट प्रवाह हुने नियमित स्वास्थ्य सेवा प्रभावकारी र अविरल रूपमा सञ्चालन गरिने जनाएको छ।