वीरगञ्ज– पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा शंकास्पद अवस्थामा मृत फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्काको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सोमबार वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ।
मृतकका माइती पक्ष, स्थानीय बासिन्दा तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूको सहभागितामा आयोजित प्रदर्शनमा घटनाको सत्यतथ्य सार्वजनिक गर्न, निष्पक्ष अनुसन्धान अघि बढाउन तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरिएको थियो।
वीरगञ्ज बसपार्कबाट सुरु भएको विरोध र्याली घण्टाघरसम्म पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले “लक्ष्मी खड्कालाई न्याय दे”, “दोषीलाई कारबाही गर”, “घटनाको सत्य बाहिर ल्याऊ” लगायतका नारासहित विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले घटनासँग सम्बन्धित तस्बिर र प्रमाणहरूको समेत सूक्ष्म अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
प्रदर्शनमा सहभागी युवा अभियन्ता धिरसिंह घिमिरेले घटनाको निष्पक्ष छानबिनमार्फत वास्तविक दोषी पहिचान गरी कानुनी कारबाही हुनुपर्ने बताए। उनका अनुसार पीडित परिवारले न्याय नपाएसम्म आवाज उठाइरहने प्रतिबद्धता जनाइएको छ।
मृतकका आफन्तहरूले घटनामा श्रीमान् सुधीर सिलवालको परिवारमाथि संलग्नताको आशंका व्यक्त गरेका छन्। यद्यपि उक्त आरोपको पुष्टि भने अनुसन्धानबाट हुन बाँकी रहेको छ।
दुई सन्तानकी आमा लक्ष्मी खड्का आफ्नै घर नजिक रहेको गोठमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाको प्रकृति शंकास्पद रहेको भन्दै माइती पक्षले सुरुदेखि नै निष्पक्ष अनुसन्धानको माग गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धान पूरा भएपछि मात्र घटनाको वास्तविक कारण खुल्ने भएकाले तथ्यमा आधारित छानबिन हुने प्रहरीले जनाएको छ।