वीरगञ्ज, साउन १२। नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालभित्र गरिएको तोडफोडको विरोधमा सुरु भएको आन्दोलन थप चर्किएको छ। आन्दोलनका क्रममा नारायणी अस्पतालका ३० भन्दा बढी चिकित्सकले सोमबार राति सामूहिक राजीनामा दिएका छन् भने नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ७० जना चिकित्सकमध्ये ३० भन्दा बढीले सोमबार राति करिब १० बजे मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्। बाँकी चिकित्सकहरूले पनि राजीनामाका लागि हस्ताक्षर संकलन गरिरहेको अस्पताल स्रोतले जनाएको छ।
गत साउन ९ गते उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकमाथि कुटपिट गरेको घटनापछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा, घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही तथा अस्पतालमा सुरक्षित कार्य वातावरणको सुनिश्चितता गर्नुपर्ने माग अघि सारेका छन्।
आज देशभर आकस्मिकबाहेकका सेवा बन्द
नेपाल चिकित्सक संघले घटनामा संलग्न दोषीलाई हालसम्म पक्राउ गरी कारबाही नगरेको तथा माग राख्न जिल्ला प्रशासन कार्यालय पुगेका चिकित्सकमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै आन्दोलनलाई देशव्यापी बनाएको छ।
संघले जारी गरेको विज्ञप्तिमा मंगलबार देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गर्ने घोषणा गरिएको छ। साथै, आवश्यक परे थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी पनि दिइएको छ।
सेवा अवरुद्ध नगर्न मन्त्रालयको आग्रह
चिकित्सकहरूको आन्दोलन र अस्पताल सेवा बन्दको घोषणापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले कुनै पनि अवस्थामा उपचार सेवा अवरुद्ध हुन नहुने उल्लेख गरिएको छ।
विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै नागरिकको स्वास्थ्य अधिकारलाई समेत ध्यानमा राखी सेवा नियमित सञ्चालन गर्न सबै पक्षसँग अपिल गरिएको छ।
मन्त्रालयले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता पनि दोहोराएको छ।